१ बैशाख २०८१, शनिबार Saturday 13 April, 2024

प्रधानमन्त्री र माधव नेपालबीच भेटवार्ता, प्रचण्डलाई विश्वासको मत दिन सकारात्मक

 बुधबार, पुस २० २०७९  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । सिंहदरबारमा बुधबार प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ । यस्तै वाम एकतालगायतका विषयमा पनि छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

एकीकृत समाजवादी पार्टीले प्रचण्ड प्रधानमन्त्री नियुक्त हुँदा समर्थन गरेको छैन । तर, विश्वासको मत दिन आग्रह गर्दै प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् ।

अध्यक्ष नेपाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन सकारात्मक भएका छन् । भेटवार्तामा प्रचण्डले सरकारलाई विश्वासको मत दिन आग्रह गरेपछि जवाफमा अध्यक्ष नेपालले पार्टीभित्र सल्लाह गरेर निर्णय गर्ने बताएका हुन् ।

प्रचण्डसँगको भेटवार्तापछि अध्यक्ष नेपालले भने- उहाँ (प्रचण्ड)ले विश्वासको मत दिन आग्रह गर्नुभयो । मैले हामी यसबारेमा पार्टीमा छलफल गर्छौ भन्ने जवाफ दिएँ।’

भेटवार्ताका क्रममा सरकारमा जाने नजानेबारे कुनै कुराकानी नभएको नेता नेपालले बताए । ‘यसबारे कुनै कुराकानी भएन, खाली विश्वासको मतका बारेमा मात्रै कुरा भयो’, अध्यक्ष नेपालले भने ।

प्रचण्डले संसदमा आगामी पुस २६ गते विश्वासको मत लिने तय भएको छ । यसैबीच आजै आयोजित एक कार्यक्रममा नेपालले आफूले प्रचण्डको मुख हेरेर मात्रै नहुने भन्दै सरकारलाई समर्थन गर्ने नगर्नेबारे २६ गते नै निर्णय लिइने बताएका छन् ।

 

प्रतिक्रिया सबै