कांग्रेस प्रवक्ता भन्छन् : अहिलेको सत्तारुढ गठबन्धन अवसर केन्द्रित छ, यो सरकार धेरे टिक्दैन

काठमाडौैैं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको सत्तारुढ गठबन्धन अवसर केन्द्रित गठबन्धन भएको र यो सरकारको आयु छोटो रहेको बताएका छन् ।
बुधबार राजधानीमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारमा अवसर पाउने उद्देश्यले एक अर्कामा विपरीत धारणा राख्ने दलहरु पनि एक ठाउँमा आएको बताएका हुन् ।
‘यो शुद्ध अवसर केन्द्रित गठबन्धन हो भन्ने हामीलाई लागेको छ । राजतन्त्र चाहिने र राजतन्त्र कुनै हालतमा हुन्न भन्ने, संघीयता चाहिन्छ चाहिन्छ भन्ने र चाहिँदै चाहिँदैन भन्ने विभिन्न प्रकृति र दिशातर्फ उन्मुख दलहरुको शुुद्ध पदीय चाहनाबाट उन्मुख भएर गठबन्धन बनेको छ’ उनले भने ।
उनले गठबन्धनका दलहरुमा कसले ठूलो जिम्मेवारी पाउने भन्ने विषयमा प्रतिस्पर्धा चलेको बताए । यो गठबन्धन आफ्नै बोझबाट थिचिएको बताउँदै उनले भने- ‘यस्तो विरोधाभासपूर्ण अवस्था छ, त्यो बोझबाट नै यो गठबन्धन आयु छोटिन सक्ने प्रशस्त सम्भावना छ ।’
गठबन्धन तोडिनुमा नेपाली कांग्रेसको दोष नभएको दाबी गर्दै प्रवक्ता महतले कांग्रेसले प्रचण्डलाई नेतृत्व दिएर गठबन्धन निरन्तरता दिने विकल्पमा छलफल गर्ने समय नै नपाएको बताए ।
यस्तै, नेता महतले निर्वाचनअघिको कांग्रेस-माओवादी गठबन्धन कायम रहनेमा आफूहरू विश्वस्त रहेको तर पुष्पकमल दाहाल र माधव नेपालले धोका दिएको आरोप लगाए ।
सरकार बनाउन छलफल भएको तर अन्तिम समयमा दाहालले छाडेर एमालेसँग गठबन्धन बनाएकोमा नेता महतले आपत्ति जनाएका थिए । यसबारे विश्लेषण भइरहेको पनि बताए । साथै यसको परिणाम तथा असरबारे मूल्यांकन भइरहेको उनले बताए ।