टुङ्गोमा पुग्न नसकेका घटनाको अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ : धिरज प्रताप सिंह

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले हालसम्म टुङ्गोमा पुग्न नसकेका पुराना घटनाहरूको अनुसन्धानलाई प्राथमिकतामा राखी पीडितलाई छिटो भन्दा छिटो न्याय दिने र पीडकलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।
सिंहले सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा निर्देशन दिँदै पेन्डिङमा रहेका मुद्दाहरूलाई बढी प्राथमिकतामा राखेर चाँडो भन्दा चाँडो समाधान गर्नेतर्फ प्रहरी कर्मचारीहरू कटिबद्ध हुनुपर्ने बताएका हुन् ।
सिंहले आन्तरिक सुदृढिकरण र आन्तरिक सुधारमा विशेष ध्यान दिँदै आफ्नो मातहतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई उत्प्रेरित गर्दै उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । आफ्नो क्षेत्रमा हुन सक्ने सम्भाव्य अपराधहरूको विश्लेषण गरी त्यस्ता अपराधविरूद्ध थप निर्मम तथा विशेष चनाखो भई काम गर्नुपर्ने पनि बताए ।
उनले उपलब्ध जनशक्तिको उच्चतम् प्रयोग गर्दै शान्ति सुरक्षा अमनचयनलाई थप मजबुद बनाउन आवश्यकताअनुसार समन्वय र सहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिए । तस्करी तथा सीमा अपराध, प्राकृतिक दोहन नियन्त्रण तथा फरार अपराधी पक्राउ एवम् जघन्य अपराधको सफल अनुसन्धानमा अझ बढी केन्द्रित र अत्यन्त प्रभावकारी रुपमा काम गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने तथा मिटर व्याजीविरुद्ध अझ बढी आक्रामक भएर काम गर्नुपर्ने बताए ।
सिंहले अहिलेको अवस्थामा नेपाल प्रहरीका लागि राम्रो काम गर्ने वातावरण भएको उल्लेख गर्दै सम्पूर्ण प्रहरी कर्मचारीहरूले नयाँ जोश, उमङ्ग, स्वतन्त्र र अझ बढी सशक्त भएर काम गर्न निर्देशन दिए । तस्करी, आपराधिक क्रियाकलाप वा संगठनलाई आँच आउने कार्यमा कुनै पनि प्रहरी कर्मचारी संलग्न भएमा त्यस्तो कार्य क्षम्य नहुने र संलग्नलाई कठोर कारवाही गरिने पनि बताए ।
उनले कार्यालय प्रमुखहरूले आफ्नो मातहतमा खटिने सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई समसामायिक विषयमा आवश्यक निर्देशन दिनुपर्नेमा समेत जोड दिएका छन् । सवारी दुर्घटना न्यूनीकरणका लागि लागू गरिएका रिफ्रेसमेन्ट सेन्टर, टाइम कार्ड लगायतका कार्यक्रमहरूलाई लागू गर्नका लागि अझ बढी सक्रिय हुन पनि निर्देशन दिए ।
उक्त अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनी, अन्य प्रहरी अधिकृतहरूको उपस्थितिको साथै सहभागी प्रहरी कार्यालयहरूका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।