अर्थतन्त्र सुधारोन्मुख रहेको राष्ट्र बैंक दाबी

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र सामान्य अवस्थामा फर्किरहेको जनाएको छ । नयाँ सरकार गठन भएको १० दिनमा पत्रकार सम्मेलन गरेको केन्द्रीय बैंकले अर्थतन्त्रका परिसूचक सामान्य बन्दै गएको दाबी गरेको हो ।
चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा संशोधन गरेको जानकारी दिन राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. गुणाकर भट्टले अर्थतन्त्रका सूचकांकले अर्थतन्त्र सुधारोन्मुख रहेको बताए ।
‘अर्थतन्त्र विस्तारै सामान्य अवस्थातर्फ फर्कन थालेको संकेत मिलेको छ’ प्रवक्ता भट्टले भने- ‘बाह्य क्षेत्रमाथि परेको दबाब कम हुँदै गएको छ । तरलता पनि विस्तारै सहज बन्दै गएको छ ।’ भट्टका अनुसार रेमिट्यान्समा सुधार भएको छ भने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ । अर्थतन्त्रका अन्य सूचकहरू पनि सुधार हुँदै गएको उनले बताए ।
नयाँ सरकार बनेसँगै विष्णुप्रसाद पौडेल अर्थ मन्त्रालयको बागडोर सम्हाल्न आइपुगेका छन् । मन्त्री पौडेलले अर्थतन्त्रको विषयमा कुरा गर्ने बेलामा केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सँगै डाक्ने गरेका छन् ।
बुधबारै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री पौडेल र गभर्नर अधिकारीलाई डाकेर अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयमा छलफल गरेका थिए ।