ऐंठनमा कमरेड : ‘युद्धमा होमिएँ, आखिर मैले के पाएँ ?’

‘आखिर मैले के पाएँ ?’
कमरेड अनामले फेरि आफैंसँग प्रश्न गर्यो । तर उत्तर उही शून्य । हो, साँच्चि नै उनले आखिर केही पनि त पाएका छैनन् ।
काठमाडौंको कुनै एक छिँडीमा बसेर उनले यो प्रश्नको उत्तर खोजेको तीन दिन भइसकेको थियो । तीन दिन यता उनको मोबाइल अफ् थियो । घरपरिवारदेखि नेताकार्यकर्ता कसैसँग सम्पर्क थिएन । भनौं, भएभरका सबै सम्पर्क छुटाएर उनी यही प्रश्नको उत्तर खोजिरहेका थिए– आखिर मैले के पाएँ ?
तीन दिनका बीचमा न त उनी कोठाबाट बाहिर निस्किएका थिए, न त कसैलाई भेट नै । रमाइलो पक्ष त के भने पार्टीको जिम्मेवार तहमा पुगेका कमरेड अनामलाई ती तीन दिनमा भेट्न कुनै कार्यकर्ता पनि आएका थिएनन् । सायद फोनमा सम्पर्क भएपछि समय लिएर मात्र आउने कार्यकर्ताको बानी भएकोले हुनसक्छ, निरन्तर उनको फोन अफ् भएपछि कार्यकर्ताले पनि कुनै काममा ‘बिजी’ होला भन्ने सोचे होलान् ।
कमरेड ‘अनाम’ भने निरन्तर यही प्रश्नको उत्तर खोजाइमा थिए- तिनीहरुकै लागि भनेर त्यत्रो युद्ध लडिदिएँ, जातीय मुक्तिको लागि भनेर हतियार उठाएँ, मन्त्री भएर पनि एक पैसो आफ्नो लागि जोडजाम गरिनँ । सारा परिवार र व्यक्तिगत सुविधा छाडेर युद्धमा होमिएँ, आखिर मैले के पाएँ …….????????’
कमरेड अनामको वास्तविक नाम ‘विष्णुप्रसाद शर्मा’ हो । पश्चिम पहाडको एक विकट जिल्लामा हुर्किएका शर्माले बाल्यकालमै कम्युनिस्ट राजनीतिबारे जानकारी पाएका थिए । पञ्चायतकालको जगजगी भएको बेला भर्खरभर्खर गाउँमा खुलेको विद्यालयमा पढाउन आइपुगेका शिक्षक देबप्रसाद गुरुडं उनको प्रेरणाको ठूला स्रोत थिए । खाँटी मगर बस्तीमा हुर्किएका विष्णु नामले मात्र शर्मा थिए । उनको रहनसहन उठ्बस सबै मगरहरु जस्तै थियो ।
बाल्यकालदेखि नै किराती साथीहरुसँग उठबस भएकोले होला सायद उनी प्रष्टसँग मगरको पनि खाम भाषामा बोलचाल गर्थे । तर एउटा फरक के थियो भने, मगर समुदायकाका बालबच्चा सानैदेखि एक डबकामा ‘जाँड’ स्वाट्टै पार्थे । उनी भने जाँड खाँदैन थिए ।गाउँ डुल्न जाँदा एक दिन विद्यालयमा आएका शिक्षक गुरुडंले जाँड नखाएको देखेर उनी अचम्ममा परे । पछि त ती शिक्षकले गाउँमा जाँडविरोधी अभियान नै चलाए । शिक्षक गुरुडं वर्गीय र जातीय मुक्तिको कुरा गर्थे ।
‘हामी पछि पर्नुको कारण यो पनि हो’, स्थानीय मगर बस्तिमा प्रशिक्षणात्मक उपदेश दिँदै गुरुडं सर भन्थे, ‘हाम्रा पुर्खाहरुले पहिले यो देशमा राज गरेका थिए । बाहुनहरुको धुत्र्याइँ अनि खानपिन, मोजमस्तिमा रम्ने, वैज्ञानिक आविष्कार र नयाँ खोजमा चासो नराख्ने स्वभावकै कारण अहिले हामी शासित हुनुपरेको छ ।’
‘होइन, यिनी हाम्रातिरका मगर गुरुडं जस्तै नै हुन् त ?’ गाउँघरमा देखिरहेका छिमेकी हरुभन्दा विलकुल फरक खालको शिक्षकलाई देख्दा उनी छक्क पर्थे, ‘कि विद्यार्थीको अगाडि धक मानेर जाँड नखाएको हो? गुरुडं पनि यति बाठो हुन्छन् र ?’ जे होस् शिक्षकको स्वभावप्रति उनी नतमस्तक भए । शिक्षक रहेछन् कम्युनिस्ट । उनको यस्तै असल गुणबाट प्रभावित भएर शर्मा पनि बाल्यकालमै सदस्यता नलिएको कम्युनिष्ट बने । विभिन्न टुक्रामा विभाजित कम्युनिष्ट पार्टीहरुमध्ये उनको पार्टीले २०५२ सालदेखि जनयुद्ध सुरु गर्यो । पढाइ पूरा नगरी नै उनले विद्यालय छाडे । पार्टीमा जोडिएको केही समयपछि नै उनी पूर्वकालाई पश्चिम, पश्चिमकालाई पूर्व खटाउने पार्टीको नीति बन्यो । उनी पूर्व खटिए ।
युद्ध आफैमा निर्मम र भयानक हुन्छ । यो थाहा पाएरै उनी त्यो संग्राममा सामेल भए । मरिएला कि १ खान नपाइएला कि १ पक्राउ परेर बर्बर यातना खेप्नुपर्ला कि १ भन्ने कुनै चिन्ता उसको मनमा कहिल्यै आएन । किनकि, चिनियाँ लेखक याङ् मोको उपन्यास ‘युवाहरुको गीत’, भियतनामी क्रान्तिको कथा ‘अजम्बरी गाउँ’, रुसी लेखक निकोलाई अस्त्रोभस्कीको ‘अग्निदीक्षा’ सबका सब उनले पढेका थिए । उनी आफूलाई ती पुस्तकहरुका नायकझैं जस्तोसुकै यातनाको दलदलमा, जस्तोसुकै अभावको आहालमा डुबुल्की मार्न तयार भएर नै युद्धमा होमिएका थिए ।
लडाइँको क्रममा कहिले शाही सेनासँग लुकिछिपी हिंड्नुपर्दा, कहिले रुखको टोड्कामा जमेको पानीले तिर्खा मेटाएर त कहिले सात दिनसम्म पानी मात्र खाएर पनि बसेकै हुन् । कतिपटक आफूनजिकै पड्किने बमको छर्राले पनि भेट्यो । मृत्युको मुखमा पुगेर फर्किएका यस्ता अनगिन्ति कथाहरु उनीसँग थिए । तर त्यो बेला उनले कहिल्यै सोचेनन्, सायद सोच्ने फुर्सद नै भएन कि ‘मैले के पाउँछु’ भनेर । फगत उनलाई यति थाहा थियो– ‘आम नेपालीहरु उत्पीडनको चरम मारमा छन् । जीवन र जगतबारे धेरै कुरा बुझिसकेको मजस्तो मानिसले उनीहरुलाई उत्पीडनको दलदलबाट बाहिर निकाल्नुपर्छ । त्यो नै मेरो पनि मुक्ति हो । अर्थात् मैले हिंडेको बाटो आम नेपाली समाज र सारा विश्वको, मानव समाजको मुक्तिको बाटो हो । मुक्ति नै मेरो सम्पूर्ण प्राप्ति हो ।’
युद्धले गति लियो । १० वर्षपछि विजयको नजिक नजिक पुग्न लागेपछि ‘लडाइँबाट जित्न नसकेको उपलब्धी वार्ताबाट लिने’ भन्दै नेतृत्वले शान्ति सम्झौतामा हस्ताक्षर गरे । पार्टी सरकारमा जाने भयो । उनलाई मन्त्रीको प्रस्ताव आयो । ‘अहँ, अहिले नै मन्त्री किन खाने १’ उनले अस्वीकार गरे । मनमनै सोचे ‘लडाइँ जारी नै छ, जितेपछि पालो आइहाल्छ ।’
वार्ताकै क्रममा पार्टीले संविधानसभाको चुनावमा भाग लिने भयो ।
‘कमरेडहरु हामी युद्धको अर्को मोर्चामा छौं, मुखमा चुनाव मनमा विद्रोह बोकेर मैदानमा उत्रने’ शीर्ष नेताहरुले यसरी नै सर्कुलर जारी गरे । चुनाव जितेर संविधान बनाउनेभन्दा पनि चुनावलाई निहुँ बनाएर विद्रोहमा उत्रने सोच बनाएको पार्टीले अप्रत्याशित बहुमत प्राप्त गर्यो ।
ठूलो पार्टी बनेपछि नेताहरुको बासस्थानमा सबका सब ठूला मान्छेहरुको ताँती लाग्न थाल्यो । नेताहरुले जे चाहिन्छ, त्यो एक कल फोनको भरमा अझ भनौं भन्नै नपर्नेगरी प्राप्त गर्न थाले । कर्मचारी भन्यो कर्मचारी, प्रहरी भन्यो प्रहरी, नेता भन्यो नेता सब आफूले भनेको मान्ने भएपछि नेताहरुले सोचे, ‘अब त सबै नेपाली जनता हाम्रै भइसकेछन् । अब बुलेटबाट होइन ब्यालेटबाटै हामीले खोजेको मुक्ति प्राप्त गर्ने हो ।’
तर नेताले जे भन्यो त्यो सही सावित हुँदै आएको र जे बोल्यो त्यो सत्य हो भन्ने बुझ्दै आएको शर्मा जस्तो तेस्रो तहको नेतालाई नेतृत्वको यो मनोविज्ञान बुझ्न गाह्रो भयो ।
पद्धति र प्रक्रिया उही, व्यवस्था र नीति उही अपनाइएको ब्यालेटको राजनीति उनको सैद्धान्तिक मान्यतासँग कुनै तादाम्यता राख्दैन थियो । उनीहरुलाई केही समय त्यही व्यक्तिगत सुखसुविधामा फसाएर मूलबाटोबाट गोरेटोतिर डो¥याउन थालेको पत्तै भएन । मुख्य कुरा त हिजो हजारौं, लाखौं कार्यकर्तालाई अन्ततः सबै सम्बन्ध र चीज वर्गीय हुन्छ भन्दै प्रशिक्षण दिने नेताहरुले आफ्नो सम्बन्ध पनि वर्गीय बनाउनुपर्छ भन्ने नै बिर्सिए । अनि लागे सबै त्यही मीठो धुन बजाउने पाइप पाइपरको पछाडि मुसाहरु लागेझैं, जसको पछि लागेर उहिले नै हेमलिनका मुसाहरुले नदीमा आत्महत्या गरिसकेका थिए ।
नदीमा ती आत्महत्या गर्न लागेका मुसाहरुझैं नेतृत्व भड्खालोमा पस्ने निश्चित भएपछि अर्को चुनावको नाटक गरियो । पार्टी पहिलोबाट तेस्रोमा झर्यो । अनि बल्ल कमरेड शर्मा झसङ्ग भए । चुनावमा हारेसँगै हिजो चारैतिरबाट घेरीहिंड्ने ‘ठूला मान्छेहरु’, सहयोग ओइर्याइदिने कर्मचारी सब टाढा भए । पार्टीले उठाउँदै आएको मुद्दा त ओझेलमा पर्यो पर्यो, कोठाभाडाको समस्या कसरी हल गर्ने चिन्ता त्यता थपिन थाल्यो ।
अनि कमरेड शर्माले सोच्न थाले– ‘होइन, हिजो सब त्यागेर तिनै हेपिएका, कमजोर र निमुखाहरुको लागि लडियो, अहिले तिनैले भोट दिएनन् । जनजातिलाई अधिकारसम्पन्न बनाउन भनेर लागियो भोट जति सालेहरुले एक कप रक्सीमा बेचिदिए । दलितको लागि भनेर लडियो, भोट चाहिँ ५० रुपैयाँमा अर्कैलाई ठोकिदिए । तिनका लागि भनेर त्यत्रो बदिलान गरियो तर तिनैलाई आखिर केही चाहिएको रहेन छ, अब किन तिनको लागि मरिहत्ते गर्नु । ल जा अब चाहिँ केही व्यक्तिगत जोरजामतिर लाग्नुपर्यो ।’
मनमा अनेक तर्कना खेलाउँदै उनले कमाउने बाटो सोचे तर सब बाटो बन्द ! अनि पो कमरेड शर्मा झन् झसङ्ग भए । उनीसँग न त कमाउनका लागि शक्तिशाली पद थियो । न त लगानी गर्ने पैसा नै । उनी परे विलखबन्दमा अनि विगत तीन दिनदेखि मोबाइल अफ् गरेर सोचिरहेका थिए कि आखिर सब त्याग गरेर मैले के पाएँ?
उनको मनमा हिजो जस्तै उत्तर आउनुपर्ने थियो– ‘न जनयुद्धमा म केही पाउँला भनेर होमिएको थिएँ । न त कमाउँला भनेर नै । न मसँग हिजो त्यत्रो सुखसुविधायुक्त जीवन थियो, न त आज नै । मैले त्यसबेला वास्तवमा खोजेको सारा नेपालीहरुलाई मुक्ति दिलाउने सपना हो, जो पूरा भएको छैन, हो मसँग अझै पनि त्यही सपना छ । त्यसैलाई पूरा गर्न अर्को शिराबाट आन्दोलन उठान गर्नुपर्ने भयो । अझ एकाध दशक लड्न तयार हु नुपर्यो ।’
तर आउँदै आएन ।
अहँ, मोबाइल अफ् गर्नुभन्दा अघिल्लो दिनमात्र गुनासो पोख्न जाँदा शीर्ष नेताले तरकारी ल्याउन छुट्टै, श्रीमतीको लागि छुट्टै, छोराको छुट्टै गाडीको व्यवस्था गरेको देखेर फर्किएपछि उनमा त्यस्तो उत्तरले ठाउँ नै पाएन । अनि यसबेला उनी त्यही प्रश्नको उत्तर खोजिरहेका थिए ।
तीन दिनपछि उनी सदाझैं उठेर खाना पकाउन किचनतिर लागे । ‘अहो ! देशमा के भइरहेको छ हँ ?’ उनले तीन दिनदेखि केही समाचारसमेत सुनेका छैनन् । हतपत उनले एफएम सुन्न मोबाइल अन् गरे ।
‘टिङरिङ, टिङरिङ, टिङरिङ टिङ’ निरन्तर मोबाइलमा एसएमसको घन्टी बजिरह्यो ।
एउटापछि अर्को हेर्न नपाउँदै म्यासेज बक्समा दर्जनौं म्यासेज आए । त्यसमध्ये अधिकांशमा लेखिएको थियो– ‘कमरेड ! होइन यस्तो माहोलमा हजुर कता गायब हो? हामीले के गर्ने हो? अब कता जाने हो?
निक्कै चासोपूर्वक म्यासेजहरु हेरेपछि कमरेड अनामले अल्छि गर्दै मनमनै सोचे अब एक पटक कमरेड अध्यक्षसँग अन्तिम छलफल गर्नुपर्यो । त्यसपछि के गर्ने सोचौँला ।
…….
उनले कमरेड अध्यक्षको समय लिन सम्पर्क गरे । फोन रिसिभ भएन । अध्यक्षका पिएहरुमार्फत कुरा पुर्याए । कमरेड अध्यक्ष पार्टी एकताको लागि व्यस्त भएको जानकारी पाए । फेरि फोन गरे । फेरि फोन गरे । र, फेरि पनि गरे । अहँ उनले अध्यक्षके समय पाउनै सकेनन् । त्यसपपछि पो उनि झल्यास्स भए । उनको अध्यक्ष त वास्तवमा अर्कै भइसकेका थिए । उनी ती पूरानो अध्यक्ष कहाँ थिए र । उनी त उनले बाल्यकालमा पढे झैँ अर्कै वर्गको अध्यक्ष बनिसकेका थिए ।
हो, अब भने उनी निन्द्रबाट विऊँझिए । अनि लगालग प्रश्नकर्ता कार्यकर्ताहरुलाई म्यासेजको रिप्लाई गर्न थाले । कमरेड घर डडेर खरानी भइगयो अब त्यही खरानीभित्र कोइला खोज्ने हो ।