२२ मंसिर २०८०, शुक्रबार Friday 8 December, 2023

काठमाडौं प्रशासन कार्यालयमा ‘टाइम कार्ड’ लागू, अब एक घण्टामै नागरिकता

 बिहिबार, पुस २१ २०७९  

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सेवा प्रवाहका लागि बिहीबारदेखि लागू हुने गरी १० किसिमका सेवामा टाइम कार्ड लागू गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार प्रशासनबाट हुने सेवा प्रवाहलाई व्यवस्थित गर्न यो नियम लागू गरिएको हो । सेवा लिन आउनेले आवश्यक कागजात पूरा गरे तोकिएको निश्चित समयभित्र उनीहरुले सेवा पाउनेछन् ।

उनले नागरिकता बनाउनका लागि कागजात पुगेको छ भने एक घन्टाभित्रमा तयार हुने बताए । संस्था नवीकरणका लागि ३० मिनेट, नाबालक परिचय पत्र, प्रशासनबाट प्रदान हुने अरु सबै सिफारिसतका लागि एक घन्टा समय तोकेको उनले बताए । राहदानी छपाइ भएर आइसकेपछि लिनका लागि १५ मिनेटमा काम हुने उनको भनाई छ ।

मुद्दा सम्बन्धी पेशी तोक्ने र तारेख दिने कामका लागि ३० मिनेट छुट्टयाइएको छ भने प्रमुख जिल्ला अधिकारीले गर्ने फैसला ६० दिनभित्र गरिसक्ने भनिएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पनि बिहीबार जिल्ला प्रशासन कार्यालय, काठमाडौं पुगेर सेवा प्रवाहको अवस्थाको निरीक्षण गरेका छन् । काठमाडौं प्रशासनले थालेको कामको प्रशंसा गर्दै नागरिकलाई सेवा लिन आउँदा सास्ती हुन नहुने उनले बताएका छन् ।

प्रतिक्रिया सबै