तराईमा शीतलहरको प्रभाव कस्तो छ ?

काठमाडौं । यतिबेला तराई-मधेशका जिल्लाहरुमा केही दिनयता शीतलहर चलिरहेको छ । शीतलहरका कारण तराईमा कतिपय मानिसको जनजीवन कष्टकर बन्दै गएको छ ।
शीतलहरका कारण खासगरी घरबाहिरका दैनिक कामकाज प्रभावित भएका छन् भने बढी प्रभावित ठाउँका विद्यालयहरूमा पठनपाठन पनि स्थगित भएको छ ।
जाडोयाममा पहाडी भेगमा कुहिरो लाग्छ, चिसो हुन्छ र सिरेटो पनि चल्छ । हिमाली र उच्च पहाडी भेगमा हिमपात हुन्छ । तर तराईमा बाक्लो कुहिरो लाग्नुका साथै शीतलहर पनि चल्ने गरेको छ । नेपालसँग सीमा जोडिएको भारतका उत्तर प्रदेश र बिहार राज्यमा पनि शीतलहरले नागरिकको जीवन कष्टकर बन्ने गरेको छ ।
विज्ञहरूका अनुसार तराई-मधेश क्षेत्रको भौगोलिक अवस्थिति र ‘रेडिएशनल कुलिङ’ भन्ने प्रक्रियाबीचको सम्बन्ध रहेकोले शीतलहर चल्ने गर्छ । शीतलहर चल्नलाई एकरूपको जमिन चाहिन्छ । पहाडी भूभागमा त कतै उपत्यका हुन्छन्, कतै डाँडाकाँडा हुन्छन् ।
तराईमा यसपालि शीतलहरबाट केही व्यक्तिको ज्यान गइसकेको विवरण सञ्चारमाध्यममा आएको छ । तर अधिकारीहरूले त्यसको पुष्टि गर्न सकेनन् ।
शीतलहरका कारण जनजीवन प्रभावित भइरहँदा आवश्यक कदम चाल्न निर्देशन दिइसकिएको सङ्घीय सरकारका अधिकारीहरूले बताएका छन् । अर्कोतर्फ मधेश प्रदेश सरकारले शीतलहर प्रभावितका लागि ठोस कदम चाल्न नसकेको सर्वसाधारणले गुनासो गरेका छन् ।