प्रचण्डजीप्रति मेरो पोजिटिभ नै धारणा छ : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री तथा नेकपा माओवादीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रचि आफ्नो सकारात्मक रहेको धारणा व्यक्त गरेका छन् ।
शुक्रबार सर्वदलीय बैठकपछि नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष नेपालले धेरै विश्लेषण गरेर मात्रै सरकारलाई विश्वासको मित दिने बारेमा निर्णय लिनुपर्ने अवस्था रहेको बताए ।
व्यक्तिगत रूपमा आफू प्रचण्डप्रति सकारात्मक रहेको भन्दै उनले भने- ‘एमालेसँग एकता गर्ने विषयमा मलाई कसैले पनि केही भनेको छैन । व्यक्तिगत भावना राख्नेहरूको बेग्लै कुरा भयो । मप्रति सदभाव राख्नेहरुको कुरा बेग्लै हो । सद्भाव राख्नेहरु सबैलाई धन्यवाद छ । भावना राम्रो हुनु आफ्नो ठाउँमा छ । तर त्यो भावना निजात्मक भइदियो भने त्यसको कुनै अर्थ नहुँदो रहेछ । त्यसकारण तपाईंहरूले भनेजस्तो कुनै ठोस कुरा भएका छैनन् । जुन गाउँ जानु छैन ।
जब कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने, सुदृढ गर्ने अभियानमा त अगाडि बढिन्छ नै । अब यसमा जो जो इच्छुक हुनुहुन्छ, उहाँहरुसँग हामी हातेमालो गर्छौं । अब विश्वासको मतको बारेमा हामीले जम्मै पक्षहरुको विषयमा विश्लेषण गर्नेछौं । व्यक्तिगत रूपमा प्रचण्डजीप्रति मेरो पोजिटिभ नै धारणा छ ।’, उनले भने ।
अध्यक्ष नेपालले एमालेसँग एकता गर्ने विषयमा ठोस प्रस्ताव नआएको पनि स्पष्ट पारे । इच्छुक पार्टीहरुसँग मात्रै आफ्नो पार्टीले हातेमालो गर्दै जाने नीति लिएको समेत उनले बताए । अध्यक्ष नेपालले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग भने एकताका लागि तत्काल वार्ता प्रक्रिया सुरु गर्ने पनि बताए ।