पाकिस्तानका गृहमन्त्रीमाथि जुत्ता प्रहार
काठमाडौं । पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहको गाडीमाथि मंगलबार पञ्जावको विधान सभा बाहिर जुत्ता प्रहार भएको छ ।
बीबीसीका अनुसार यो घटना हुदाँ राणा गाडीमै रहेका थिए । जुत्ता कुनै एक अज्ञात व्यक्तिले फ्याँकेका थिए। राणा उक्त समयमा पञ्जावको विधान सभामा जाँदै थिए ।
उनी विधान सभामा पुग्नै लाग्दा जुत्ता प्रहार भएपछि ड्राइभरले केही बेर गाडी रोकेका थिए । यसअघि राणा सनाउल्लाह र प्रधानमन्त्री शरीफका विशेष सहयोगी अताउल्लाह तरारको पञ्जाव विधान सभामा प्रवेशमा रोकिएको थियो ।
पञ्जावमा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)को सरकार छ । उक्त क्षेत्रमा पीएमएल–एन आफ्नो मुख्यमन्त्री बनाउने कोशिस गरिरहेको छ ।
सनाउल्लाहले पत्रकार सम्मेलनमा पीएमएल–एनका नेतालाई विधान सभामा रोक्ने प्रयास भइरहेको दाबी गरेका छन् ।
पञ्जावका मुख्यमन्त्री परवेज इलाहीले विश्वासको मतलाई लिएर पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन) र पञ्जावको गठवन्धन सरकार वितेका केही महिनादेखि टसलमा छन् । यही कारण राणा सनाउल्लाह विधान सभाको कारबाही चलिरहेको समयमा नेताहरुलाई भेट्न पुगेका थिए ।