२१ माघ २०७९, शनिबार Saturday 4 February, 2023

मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज यादव नियुक्त

 बुधबार, पुस २७ २०७९  

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले नियुक्तको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष ६३ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित उनले बुधबार दिउँसो मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए ।

यादवलाई नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा, नेपाल संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यले समर्थन गरेका छन् ।

जसपा सांसद रामअशिष यादवका अनुसरा स्वतन्त्र प्रदेशसभा सदस्यहरू सुरिता साह र अनिरूद्द सिंहले समेत उनलाई समर्थन गरेको हो । मधेश प्रदेश सभामा १०७ जना सांसदहरू छन् । सरकार गठनका लागि कम्तीमा ५४ जना सांसदको समर्थन चाहिन्छ ।

प्रदेश सभामा नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १÷१ तथा स्वतन्त्र प्रदेशसभा सदस्यहरूसहित कूल ६३ जना प्रदेशसभा सदस्य छन् ।

नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र तीन जना प्रदेशसभा सदस्यको सरकारलाई समर्थन छैन । प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते अपरान्ह ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेस गर्न आह्वान गरेका थिए। पुस २९ गते मुख्यमन्त्रीको शपथ ग्रहण हुनेछ ।

प्रतिक्रिया सबै