२१ माघ २०७९, शनिबार Saturday 4 February, 2023

थुनामुक्त भएपछि सन्दीपले भने- म छिट्टै खेलमा फर्कन्छु, समयसँगै सबै कुरा बाहिर आउँछ

 शुक्रबार, पुस २९ २०७९  

काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले अब छिटै खेलमा फर्किने बताएका छन् । कारागारबाट धरौटी तिरेर रिहा भएलगतै पत्रकारहरुसँग कुरा गर्दै उनले छिटै खेलमा फर्किने बताएका हुन् ।

सन्दीपलाई उच्च अदालत पाटनले २० लाख धरौटी तिरेर रिहा गर्ने आदेश दिएसँगै उनी धरौटी तिरेर तारेखमा आज रिहा भएका हुन् । कारागारबाहिर सन्दीपलाई कुरिरहेका समर्थकहरुले सन्दीपलाई बोल्न आग्रह गरेका थिए । सन्दीपसँगै साथमा रहेको कानुन व्यवसायी सरोज घिमिरेले नारा लगाएका थिए ।

‘यो जितहार होइन अदालतले यो मुद्धाको बारेमा कुनै पनि टिकाटिप्पणी गर्न कानुन व्यवसायी, सन्दीप र पत्रकारलाई रोकेको छ । यस विषयमा कुनै टिकाटिप्पणी हुने छैन । २० लाख धरौटी राखेर सन्दीप बाहिर निस्केका छन् । सन्दीपले एकदुई शब्द मात्र बोल्न चाहेको मैले बुझेको छु । त्यसपछि सन्दीप गाडीमा फर्कन्छ ।’

सन्दीपले अदालतको आदेशलाई सम्मान गर्ने बताए । ‘म के भनिराखेको छु एकछिन’ सन्दीपले समयसँगै सबैकुरा बाहिर आउने पनि बताए ।

‘अदातलबाट जे आदेश भएको म त्यसलाई नै सम्मान गरेर अघि बढिराखेको छु । र यो आदेशलाई सम्मान गर्ने नै छु । जित हार भन्दा पनि न्याय कानुनको तर्फबाट जे आउँछ । त्यही अनुसार अघि बढ्नेछु । अहिलेको लागि म आफनो परिवार बाहेक केही सोच्न सकिराखेको छैन । केही समय मलाई मेरो परिवारको साथ चाहिन्छ । तपाईहरुको अपार मायाको लागि एकदमै धेरै धन्यवाद अहिले म धेरै प्रतिक्रिया पनि दिन सक्दिन । र दिने हालतमा पनि छैन । र समयसँगै सबैकुरामा सबैको सामु नै आउँछ । धन्यबाद’, उनले भने । एक किशोरी बलात्कार गरेको आरोपमा सन्दपी गत असोज २० गते पक्राउ परेका थिए ।

न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो । उनलाई धरौटीमा छाड्न अदालतले ५ वटा सर्त राखेको छ । ती सर्त उलंघन भएको अवस्थामा पुर्पक्षका क्रममा धरौटी माग गर्ने आदेश स्वतः निष्कृय हुने भनिएको छ ।

उच्च अदालतले लामिछानेलाई पीडितको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्न रोक लगाएको छ । ‘पीडितको परिवारको सदस्यलाई कुनै पनि माध्यमबाट कुनै पनि किसिमको डर, त्रास, धम्की वा दबाब दिने, प्रभाव पार्ने वा दुरुत्साहन दिने वा सोसम्बन्धी कुनै कार्य नगर्नु, नगराउनु भनी प्रतिवादीलाई निषेधात्मक आदेश दिइएको छ’, आदेशमा भनिएको छ ।

लामिछानेलाई उपत्यका छाड्न पनि अदालतले रोक लगाएको छ । उपत्यका छाड्नुपर्ने भए जिल्ला प्रहरी परिसर, काठमाडौंलाई लिखित जानकारी दिनुपर्ने आदेशमा भनिएको छ । सर्तहरुको प्रभावकारिताका लागि लामिछानेको गतिविधिमाथि निगरानी राख्न प्रहरीलाई निर्देशन दिइएको छ ।

‘उनको मोबाइल, टेलिफोन नम्बरमा सेवा प्रदायक संस्थामार्फत पहुँच राखी सोसँग सम्बन्धित सामग्री वा विवरणको सञ्चार अभिलेख गर्नको लागि प्रहरी प्रधान कार्यालयले सुरक्षित र उपयुक्त व्यवस्था मिलाउन सक्नेछ । त्यसरी पहुँच राखिएका र अभिलेख गरिएका सामग्री वा विवरणको गोप्यता भंग नहुने व्यवस्था मिलाउनुपर्नेछ’, आदेशमा भनिएको छ ।

जिल्ला अदालतले मागेको अवस्थामा त्यस्ता सामग्री वा विवरण उपलब्ध गराउन पनि आदेमा भनिएको छ भने यसको जानकारी प्रहरी प्रधान कार्यालय, नक्साललाई दिन भनिएको छ ।

प्रतिक्रिया सबै