२१ माघ २०७९, शनिबार Saturday 4 February, 2023

प्रचण्ड नेतृत्वको सरकारमा चार उपप्रधानमन्त्री, वरीयतामा राजेन्द्र लिङ्देनभन्दा रवि लामिछाने माथि

 मङ्लबार, माघ ३ २०७९  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा चार जना उपप्रधानमन्त्री बनेका छन् ।

मंगलबार उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र ३ राज्यमन्त्रीले शपथग्रहण गरेका हुन् ।

उपप्रधानमन्त्रीमा बिष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र राजेन्द्र लिङ्देन बने । चार उपप्रधानमन्त्रीमध्ये तीन जनाले पुस ११ गते नै सपथ लिएका हुन् । लिङ्देनले भने मंगलबार सपथ लिएका हुन् ।

मन्त्रिपरिषदको वरीयतामा अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका बिष्णु पौडेल दोस्रो स्थानमा रहेको राष्ट्रपति कार्यालय स्रोतको भनाई छ । त्यस्तै, भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो स्थानमा छन् ।

गृहमन्त्री रवि लामिछाने चौथो वरीयतामा छन् भने ऊर्जा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका राजेन्द्र लिङ्देन पाँचौं स्थानमा छन् ।

प्रतिनिधि सभामा लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका २० सांसद छन् । लिङ्देन नेतृत्वको राप्रपाका १४ सांसद छन् । प्रचण्ड नेतृत्वको सरकारमा यी दुबै दलले १-१ उपप्रधानमन्त्री, ३-३ मन्त्री र १-१ राज्यमन्त्री पाएका छन् ।

नेकपा एमालेले ८, नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३(३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय लिएको छ । माओवादी, रास्वपा र राप्रपाले १-१ राज्यमन्त्री पाएका छन् ।

राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन् । माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएका छन् ।

त्यस्तै, सुदन किराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री भएकी छन् । माओवादीबाटै नारायणकाजी श्रेष्ठ यसअघि नै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।

नेकपा एमालेबाट डा। विमला राई पौडेल, त्यस्तै, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री नियुक्त भएका छन् । पौडेल परराष्ट्र र गिरी स्वास्थ्य मन्त्री बनेका छन् ।

राप्रपाबाट सहरी विकासमन्त्रीमा उपाध्यक्ष बिक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधान रहेका छन् । राप्रपाबाटै दीपक सिंह उर्जा राज्यमन्त्री बनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री नियुक्त भएका छन् । यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बनेकी छिन् । रास्वपा अध्यक्ष रवि लामिछाने यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका थिए ।

प्रतिक्रिया सबै