मन्त्रालयमा भएका विसङ्गती पूर्णरुपमा हटाउने पर्यटनमन्त्री सुदन किराँतीको उद्घोष (भिडियो)

काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हवाई सुरक्षाका लागि आजैबाट काम थाल्ने बताएका छन् । मंगलबार पर्यटन मन्त्रालयमा पदबहाली गर्दै उनले हवाई यात्रालाई जोखिमबाट मुक्त बनाउन प्रयास गर्ने बताएका हुन् ।
आइतबार पोखरामा भएको जहाज दुर्घटनाबारे नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आजै बैठक बस्ने जानकारी दिँदै मन्त्री किरातीले हवाई क्षेत्र किन असुरक्षित भयो ? यो क्षेत्रमा के कस्ता कमजोरी छन् भन्नेबारे प्राधिकरणसँग जानकारी लिने बताए ।
मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका मन्त्रीले अहिले देश शोकमा रहेको भन्दै खादामाला नलागाइदिन आग्रह समेत गरे । माला किन्ने पैसा सहयोग पेटिकामा राख्न आग्रह गर्दै उनले आफ्नो तर्फबाट एक महिनाको रकम सहयोग पेटिकमा राख्ने पनि बताए ।
काम गर्ने वातावरण सफा हुनु पर्ने भन्दै उनले सबै पर्यटन मन्त्रालय मातहतका शौचालयहरुलाई मन्त्रीले प्रयोग गर्ने जस्तै सफा राख्न निर्देशन दिए ।
उलने साँस्कृतिक पर्यटनमा जोड दिंदै हाम्रो देशमा फोटोकपी नहुने तीन सम्पदाको सम्बर्द्धन गरी पर्यटन विकास गरिने पनि बताए । उनले भने- ‘सगरमाथा, पशुपतिनाथ, लुम्बिनीलाई सम्बर्द्धन र विकास गरी पर्यटन विकास गर्ने हो ।’
देशको अर्थतन्त्र जर्जर रहेको भन्दै मन्त्री किरातीले मन्त्रालयका कुनै पनि सामान नफेर्न पनि निर्देशन दिए । उनले मन्त्रालयमा भएका विसङ्गती पूर्णरुपमा हटाउने उद्घोष पनि गरे ।
यस्तै, मन्त्री किराँतीले कर्मचारी कटौती गर्ने पहिलो निर्णय गरेका छन् । किराँतीले खादा नलगाउने र पर्यटन मन्त्रालयका कर्मचारी कटौती गर्ने पहिलो निर्णय गरेका हुन् ।
भिडियो