२१ माघ २०७९, शनिबार Saturday 4 February, 2023

शिक्षामन्त्री खनालको प्रतिबद्धता: संघीय शिक्षा ऐन ल्याउन आवश्यक प्रक्रिया अघि बढाउँछु

 मङ्लबार, माघ ३ २०७९  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनाल शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा खनाल शिक्षामन्त्री नियुक्त भएका हुन् ।

काठमाडौं–६ बाट प्रत्यक्ष निर्वाचित खनाल सार्वजनिक नीतिशास्त्र पढेका, माध्यमिक शिक्षाको समस्यालाई नजिकबाट बुझेका र त्यसमै काम गरेर आएका व्यक्ति हुन् ।

‘टिच फर नेपाल’ नामक संस्थाका संस्थापक उनले २०७४ सालको निर्वाचनपछि तुलसीपुर उपमहानगरपालिकामा शिक्षा सल्लाहकार भएर काम गरेका थिए । मन्त्री खनालले मुलुकको शैक्षिक गुणस्तर सुधारका लागि चाहिने आवश्यक नीति तथा कार्यक्रम छिट्टै ल्याउने बताएका छन् ।

शिक्षा मन्त्रालयमा आज पदभार ग्रहणपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै नवनियुक्त मन्त्री खनालले शिक्षा क्षेत्रमा यसअघि काम गरेको आफ्नो अनुभवसमेतका आधारमा मुलुकको शैक्षिक गुणस्तर सुधारका पक्षमा आवश्यक नीति तथा कार्यक्रम ल्याउने बताए ।

उनले संघीय शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन ल्याउन आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गरे । शिक्षामन्त्री खनालले विद्यालयमा शिक्षकको दरबन्दी समायोजनसहित समयमा नै आवश्यक पाठ्यपुस्तक व्यवस्था गर्ने, कोभिडपछिको सिकाइ र भोगाइका आधारमा शिक्षा क्षेत्रको समग्र विकास एवम् गुणस्तर सुधारका पक्षमा आवश्यक नीतिगत व्यवस्था गर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया सबै