२१ माघ २०७९, शनिबार Saturday 4 February, 2023

नेपाल टी-२० लिगमा म्याच फिक्सिङको प्रयास

 आइतवार, माघ ८ २०७९  

काठमाडौं । नेपाल टी-२० क्रिकेटमा ‘स्पट फिक्सिङ’ भएको पुष्टि भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा ९ देखि २४ माघसम्म भएको लिगको सुरुवाती चरणका केही खेलमा ‘स्पट फिक्सिङ’ भएको पाइएको जनाएको हो ।

सीआईबीका निर्देशक उत्तमराज सुवेदीका अनुसार खेलका निश्चित गतिविधिमा केही नेपाली र भारतीय खेलाडीसँग लेनदेन गरेको अनुसन्धानबाट देखिएको हो । सट्टेबाजी (बेटिङ) बाट असूली गर्ने उद्देश्यले ‘म्याच फिक्सिङ’ गराउने प्रयास भएको उनले बताए । ‘क्रिकेटमा खेल नै फिक्सिङ गर्न गाह्रो विषय हो, यद्यपि म्याच नै फिक्सिङ गर्ने प्रयास समेत भएको देखिएको उनको भनाई छ ।

फिक्सिङका लागि आफ्ना खेलाडीहरुलाई अफर आएको भन्दै काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ‘एन्टी करप्सन युनिट’लाई जानकारी गराएको थियो । प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले पनि फिक्सिङ भएको दाबीसहित फेसबुकमा भिडियो वक्तव्य जारी गरेर जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए । त्यसपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पनि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय, नक्साललाई निर्देशन दिएका थिए ।

त्यसलगत्तै सीआईबीले प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया सबै