नेपाली सिक्का छाप्ने मेसिन तयार

काठमाडौं । टक्सार विभागले नेपाली सिक्का छाप्नको लागि मेसिन तयार पारेको छ । राष्ट्र बैंक अन्तर्गतको टक्सार विभागले पुराना मेसिनलाई मर्मत सम्भार गरी सिक्का छाप्न सक्ने बनाएको हो ।
राष्ट्र बैंक टक्सार विभागका निर्देशक विनोदराज आचार्यका अनुसार विभागले परीक्षणका रुपमा चलनचल्तीको नमुना सिक्का छाप्न (बनाउन) थालिसकेको छ । करिब दुई दशकपछि टक्सारले नेपालमै परीक्षणका रुपमा सिक्का छाप्न थालेको हो ।
नेपालमा दुई दशक अघिसम्म राष्ट्र बैंकले सुन्धारास्थित टक्सार विभागबाट सबै प्रकारका सिक्का (चलनचल्तीका र सुन तथा चाँदीका स्मारिका) बनाउँदै आएको थियो । राष्ट्र बैंकले पछि चलनचल्तीका सिक्का बनाउन छाडेको थियो । त्यसपछि चाँदीका स्मारिका सिक्का र सुनका असर्फी मात्र बनाउन थालेको हो ।
निर्देशक अचार्यले अहिले पुराना मेसिनलाई मर्मत सम्भार गरेर चलनचल्तीका सिक्का छाप्न मिल्ने गरी बनाएर तयारी अवस्थामा पुर्याइएको र परीक्षणका रुपमा केही थान सिक्का छपाइ गरिएको बताए ।
उनका अनुसार परीक्षण सफल भएको र राष्ट्र बैंकको उच्च व्यवस्थापनले चलनचल्तीका सिक्का नेपालमै छपाइ गर्ने भन्ने निर्णय गरेको अवस्थामा टक्सार विभाग सबै पक्षबाट तयार भएको हो ।
टक्सार विभागका अनुसार उक्त सिक्का छपाइका लागि हाल ४ वटा मेसिन रहेको र प्रति मेसिनले एक सेकेन्डमा २ वटा सिक्का तयार गर्न सक्ने बताइएको छ । अब १ मिनेटमा ४ सय ८० वटा र एक घण्टामा २८ हजार ८ सय ८० वटा सिक्का उत्पादन गर्न सक्नेछ ।
केही वर्षयता नेपालले एक र दुई रुपैयाँका कागजी नोट छाप्न छोडेको छ । ती दरका रुपैयाँको सिक्का मात्र छाप्दै आएको छ । ती सिक्का विदेशमै छापिँदै आएको छ ।