म्याच फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ

काठमाडौं । नेपाल टी-२० क्रिकेटमा स्पट फिक्सिङ गरेको आरोपमा दुई जना क्रिकेटर पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले दुई जना क्रिकेटरलाई पक्राउ गरेको हो ।
सिआइबी स्रोतका अनुसार पक्राउ पर्नेमा आदिल अन्सारी र मेहबुब आलम रहेका छन् । उनीहरुलाई आज बिहान ११ बजेतिर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।
नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि दुई खेलाडी पक्राउ परेको पुष्टि गरेका छन् । सुरूदेखि नै विवादमा परेको लिगमा स्पट फिक्सिङ भएको भन्ने उजुरीपछि सिआइबीले अनुसन्धान गरिरहेको थियो ।
आदिलले टी-२० लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए । तर मेहबुब भने लिगमा कुनै पनि टिममा आबद्ध थिएनन् ।
आदिलले गत वर्ष अमेरिकाविरुद्धको खेलबाट एकदिवसीय राष्ट्रिय टिम र पपुवा न्युगिनीविरुद्धको खेलबाट टी-२० टिममा डेब्यू गरेका थिए । मेहबुब भने नेपालका चर्चित अलराउन्डर हुन् ।