सर्बसाधरणले उपचार नपाएर बिरामी मर्न थालेपछि प्रदर्शन: अस्पतालमा तोडफोड
वीरगन्ज श्रवन २५ : वीरगन्जमा उपचार नपाएर दिनहुँ बिरामीहरुको ज्यान गएको भन्दै आइतबार प्रदर्शनमा उत्रिएका सर्वसाधरणले नारायणी अस्पतालमा तोडफोड गरेका छन्। वीरगन्जमा पछिल्लो २ दिनमा अस्पतालले भर्ना नलिएका कारण उपचार नपाएर ३ जनाको मृत्यु भएको छ। त्यसैको आक्रोशमा आइतबार प्रदर्शनमा उत्रिएका मृतकका आफन्त र स्थानीयले नारायणी अस्पतालमा तोडफोड गरेका हुन्।
प्रदर्शनकारीले अस्पताल परिसरमा रहेको डाक्टर हरुको निजी कारमा पनि तोडफोड गरेका छन्। प्रदर्शनकारीले अस्पताल परिसरभित्रै पसेर डाक्टर हरुको निजी कारका साथै आकस्मिक उपचार कक्षभित्र पनि तोडफोड गरेक छन्। अस्पताल परिसरमा रहेको सेनिटाइजर बुथ, आकस्मिक उपचार कक्षको बेड, पंखा र शौचालयमा पनि तोडफोड गरी क्षति पुर्याइएको अस्पतालका श्रोतले जानकारी दिए।
प्रदर्शनकारीले अस्पतालमा तोडफोड गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठी चार्ज गरेको थियो। उपचार नगरी अस्पतालको गेट बाहिरबाटै फर्काएर बिरामीको ज्यान लिने अस्पताल र चिकित्सकलाई कार्वाहीको माग गर्दै प्रदर्शनमा उत्रिएको वीरगन्ज २ छपकैयाका मुस्तुफा अन्सारीले बताए। ‘मेरै टोलकी २० वर्षीया नानी बिरामी हुँदा ७ भन्दा बढी अस्पताल चहार्यौं तर कुनैले भर्ना लिएनन्, अकालमै उनको ज्यान गयो’, अन्सारीले भने,‘हामीलाई यस्ता ज्यानमारा अस्पताल र डाक्टर चाहिंदैन, उपचार नपाएर मरेकी नानीले न्याय पाउनु पर्छ अन्यथा अझ कडा आन्दोलनमा उत्रिन्छौं।’
वीरगन्जमा रहेको एक मात्र सरकारी अस्पताल नारायणी अस्पताललाई सरकारले कोभिड अस्पताल बनाएपछि त्यहाँ १२ दिनदेखि आकस्मिकबाहेकका अन्य उपचार सेवा बन्द छ। वीरगन्जमा एउटा मेडिकल कलेजका साथै १५ भन्दा बढी सुविधासम्पन्न निजी अस्पताल छन्। तीमध्ये वीरगन्ज हेल्थ केयर र गण्डक अस्पताल कोभिड अस्पतालका रुपमा सन्चालनमा छन्।