कांग्रेसलाई राष्ट्रपति दिने आठ दलबीच सहमति

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससहितका ८ दलले नयाँ गठबन्धन बनाएका छन् । त्यस्तै यी दलहरुबीच राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ ।
शुक्रबार साँझ बसेको ८ दलको बैठकमा प्रधमनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपतिको चुनावमा समर्थन गर्ने प्रस्ताव राखेका थिए ।
प्रचण्डको प्रस्तावमा माओवादी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी जसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् ।
एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालका अनुसार राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने टुंगो लागेको हो । उम्मेदवारका सन्दर्भमा कांग्रेसले निर्णय गर्ने उनको भनाई छ ।
प्रचण्डले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णयसँगै आजैबाट नयाँ राजनीतिक यात्राको सुरुवात भएको बताए ।
बालुवाटारमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, लोसपा, जनमत नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको छलफलमा राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने प्रस्ताव राख्दै प्रचण्डले सो कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डको प्रस्तावमा आठवटै दलले सहमति जनाएका थिए ।
नेता ज्वालाले बैठकमा एकमात्र एउटा एजेण्डा रहेको र त्यसमा राष्ट्रपतिमा संसद्को ठुलो दल कांग्रेसलाई समर्थन गरौँ भनेर प्रस्ताव ल्याएको बताए । ‘प्रधानमन्त्रीको त्यो प्रस्तावमा आठवटै दलले समर्थन गर्ने, सहयोग गर्ने टुंगो लागेको छ’, नेता ज्वालाले भने- ‘व्यक्तिका हकमा कांग्रेसले निर्णय गर्छ ।’
त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले आजैदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको भन्दै यसलाई अघि बढाउ, समृद्धि ल्याउन र एकताबद्ध भएर जान सबैलाई आग्रह गरेको ज्वालाले जानकारी दिए ।