३ श्रावण २०८१, बिहीबार Thursday 18 July, 2024

सोमपाल कामीले लिए दोस्रो विकेट

 बिहिबार, कार्तिक १६ २०८०  

काठमाडौं : आइसिसी टि – २० विश्वकप एसिया फाइनल छनोटको तेस्रो खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले ओमानको दोस्रो विकेट लिएको हो।

नेपालका लागि सोमपाल कामीले दोस्रो विकेट लिएका हुन्। उनले ३.१ ओभरको खेलमा अकिब इलियासलाई आउट गराएका छन्। उनले ६ बलमा २ रनमात्र बनाउन सके। अहिले ओमान २ विकेटको क्षतिमा ४ ओभरको समाप्तिमा २५ रन बनाएर खेलिरहेको छ।

यस अगाडि करण केसीले कश्यप प्रजापतीलाई आउट गरेका थिए। केसीको बलमा आशिफ शेखले क्याट आउट गराएका हुन्। प्रजापतीले ५ बलमा ८ रन बनाएर पवेलियनमा फर्किए। उनले दुई चौका हानेका थिए।

कप्तान रोहित पौडेलले ओमानलाई ब्याटिङको निम्तो दिएका थिए। समूहगत चरणको अन्तिम खेल अगाडि नै समूह ‘ए’बाट नेपाल र ओमान सेमिफाइनलमा पुगेका छन्। आजको खेलबाट समूह विजेता बन्ने लक्ष्य रहेको छ।

छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो।ओमानले पनि पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले पराजित गरेको थियो।

कीर्तिपुर र मूलपानी मैदानमा हुने प्रतियोगिताको समूह ‘ए’मा नेपाल, ओमान, सिंगापुर र मलेसिया छन्। यस्तै समूह ‘बी’मा हङकङ, यूएई, बहराइन र कुवेत छन्।  समूह एका विजेताले समूह बी को उपविजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछ।

फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने टीट्वेन्टी विश्वकप खेल्न पाउनेछ।

आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा।

प्रतिक्रिया सबै