२१ मंसिर २०८०, बिहीबार Thursday 7 December, 2023

जनयुद्धलाई कसैले दबाउन सक्दैन, चिहानबाट फेरि उठ्छ : प्रचण्ड

 बिहिबार, कार्तिक २३ २०८०  

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई कसैले दबाउन नसक्ने बताएका छन् ।आज (बिहीबार) पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’ को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले जनयुद्धलाई जति दबाउन खोजे पनि पटक–पटक उठिराख्ने बताए । उनले हजारौँ मान्छेहरूले आफूखुसी बलिदान गरेको आन्दोलनलाई कसैले एकछिन दबाए पनि फेरि उठ्ने बताए । प्रधानमन्त्री दाहालले उनले आफूले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेर अरू कुनै प्रधानमन्त्रीले पनि गर्न नसकेको काम गरेको दावी गरे । पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणमा भूमिका खेलेको भन्दै उनले उनको सो भूमिकालाई सम्मान गर्नु कर्तव्य हुने बताए ।

उनले भने ‘मैले यो पटक प्रधानमन्त्री भएपछि पृथ्वी जयन्तीको दिनलाई पनि बिदा दिने निर्णय गराएँ । मानिसहरूलाई त के ग¥यो प्रचण्डले भन्ने पनि लाग्छ । तर नेपालको इतिहासमा त्यो ऐतिहासिक परिघटना थियो । जसले आधुनिक नेपाल निर्माणको प्रक्रियामा एउटा कोशेढुंगाको भूमिका खेल्यो । हामी ऐतिहासिक भौतिकवादी हुनुका नाताले भौतिक ढंगले त्यसलाई सम्मान गर्नु हाम्रो कर्तव्य हो भन्ठानेर मैले । अरूले सकेका थिएनन् । धरै भए प्रधानमन्त्री शान्ति सम्झौतापछि । कुरा त गर्थे तर कसैले आँट गरेका थिएनन् । मैले आँट गरे । यो आँट गरेकोमा सबैले ठिकै माने कसैले विरोध गरेनन् । तर मैले अर्को पनि गरेँ जनयुद्ध दिवस भनेर त्यसको चाहीँ अहिले निकै ठूलो टिकाटिप्पणी हुने गरेको छ ।’

उनले भने, ‘मलाई के लाग्छ भने पृथ्वीनारायण शाहको एकखालको कर्म पछिको ठुूलो कर्म नेपाली जनताले अगाडि ल्याएको त्यहीँ नै हो । त्यसलाई अहिले जति दबाउन खोजेपनि इतिहासमा पटक–पटक त्यो उठिराख्छ । त्यो चिहानबाट फेरि उठ्छ । किनभने हजारौँ मान्छेहरूले आफूखुसी बलिदान गरेको आन्दोलनलाई कसैले दबाएर अहिले एक्छिन दबाइयो भनेपनि फेरि उठ्छ त्यो । कार्ल मार्क्सले भन्नुभएको थियो, महान उद्देश्यको निम्ति समर्पित भएर त्याग गर्ने सहिदहरू कहिल्यै मर्दैनन् । अहिले एकछिन दबाइएर चिहानमा पुरिएपनि चिहानबाट फेरि ती जाग्छन् । र जिउँदा मान्छेका निम्ति प्रेरणा भएर फेरि आउँछन् । ती हजारौँ सहिदहरू कहिल्यै पनि दबिने छैनन् ।’

प्रधानमन्त्री दाहालले जनयुद्ध पृथ्वीनारायण शाहको राज्य एकीकरणपछि दोस्रो ठूलो जनताको तहबाट भएको विद्रोह र पहलकदमी भएको उल्लेख गरे । उनले जनयुद्धको आधिकारिक र प्रमाणिक व्याख्या हुन अझै बाँकी रहेको भन्दै समयक्रममा यसको आधिकारिक र प्रमाणिक व्याख्या हुने विश्वास व्यक्त गरे ।

उनले अहिले जनयुद्धलाई विद्रुपीकरण गरेर निरंकुशतालाई अगाडी ल्याउने जमर्को भइरहेको बताए । उनले भने ‘जनयुद्धको दर्शन, त्यसभित्र लिइएका रणनीति, अभ्यासहरू, नीतिहरू, त्यतिबेला हामीले अपनाइएका कार्यशैलीहरू, आचारसंहिताहरू, त्याग, तपस्याहरू, हामीले त कुनै तलब, भत्तामा होइन । भएको सम्पत्तिहरू पनि सकेर सम्पूर्ण रूपले राष्ट्र र जनताको निम्ति यो देशका सबै महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु सबै सबैको पहिचान र अधिकारको निम्ति आफू बरु मेटिने जतालाई सबैलाई पहिचान र अधिकार चाहियो । समावेशिता, समानुपातिकता चाहियो भन्ने उद्देश्यका साथ उदात्त विचार र भावनासहित गरिएको महान त्याग थियो ।’

उनले थपे, ‘पृथ्वीनारायण शाहले राज्य एकीकरणको बेलामा गरे पछिको अर्को ठूलो जनताको तहबाट, जनताको स्तरबाट गरिएको महान विद्रोह र पहलकदमी थियो यो । तर यसको आधिकारिक र प्रमाणिक व्याख्या हुन अझै बाँकी छ । आधिकारिक रूपले यो के चिज हो ? यसभित्र कस्तो विचार, भावना र संस्कारले काम गरेको थियो ? भन्ने कुराको जस्ताको तस्तै स्थापित गर्ने देशभित्र, देशबाहिर त्यो अझै बाँकी छ । यसभित्र अन्तर्निहित उदात्त विचार, भावना र त्यागको महानता, उच्चतालाई होइन यसको विद्रुपिकरण गर्ने । र निरंकुशतालाई अगाडी ल्याउने जमर्कोहरू अझैपनि देखा पर्छन् ।’

प्रधानमन्त्री दाहालले पूर्वउपराष्ट्रपति पुनले पुस्तकमा कतिपय घटनाक्रमहरू सिधा सिधा लेखेको भन्दै त्यसको गलत व्याख्या हुन सक्ने बताए । उनले पुस्तकमा लेखिएको कतिपय घटनाक्रमहरूको गलत व्याख्या भएमा लेखकको इमानदारिता माथि अन्याय हुने बताए । उनले पुस्तकमा लेखिएको कुरालाई लेखकको पारदर्शिता, इमानदारिता र निष्ठाको रुपमा बुझ्नुपर्ने बताए ।

उनले भने ‘उहाँले किताबमा नलेख्नुपर्ने कुरा पनि अलिअलि लेख्दिइहाल्नु भयो । कतिपय घटनाक्रम जसरी उहाँले भन्नु भएको छ, त्यही भाषामा नभनेर अलिकति घुमाएर भनेको भए हुन्थ्यो जस्तो मलाई पनि लागेको छ । तर उहाँको बानी, ब्यहोरा अनुसार उहाँले लेख्नुभएको हो । उहाँको स्वभाव अनुसार लेख्नुभएको छ जस्ताको तस्तै । तर यसलाई कसैले प्ले गर्छु भन्ने सोच्यो भने प्ले गर्न सक्ने पनि हुनसक्छ । तर म सबैलाई के भन्छु भने, सुरक्षामा काम गर्नेपनि, न्यायालयमा काम गर्नेहरूलाई पनि, राजनीतिकालाई पनि । यो उहाँको इमानदारिता र सरलताको प्रतीक हो । यसलाई कुनैपनि अर्थमा आग्रह र पूर्वाग्रहले हेरिनु हुँदैन । त्यो हेरियो भने अन्याय हुन्छ । सत्यमाथि अन्याय हुन्छ । उहाँको पारदर्शिता, इमानदारिता र निष्ठालाई त्यही रुपमा बुझिनुपर्छ ।’

कार्यक्रममा बोल्दै पूर्व उपराष्ट्रपति पुनले पुस्तकमार्फत आफ्नो राजनीतिक संलग्नता र उतारचढावहरूको बारेमा उल्लेख गरिएको बताए । उनले १२ बुँदे समझदारीप्रति भ्रम फैलाइएको भन्दै सो समझदारीको सम्बन्धमा स्पष्ट कुरा पुस्तकमा उल्लेख गरिएको बताए । त्यस्तै नेपालको शान्ति प्रक्रियाको सम्बन्धमा अनमिनले खेलेको भूमिकाका बारेमा पनि पुस्तकमा उल्लेख गरिएको उनको भनाई छ । उनले पुस्तकमा जनयुद्धकालमा अध्यक्ष दाहालदेखि अन्य नेताहरू सँगको आफ्नो सम्बन्ध, राजनीतिक भूमिकाहरूको पनि पुस्तकमा चर्चा गरिएको जानकारी दिए ।

प्रतिक्रिया सबै