पोखरामा कोरोना संक्रमणका कारण नयाँ वर्षमा पर्यटन व्यवसाय सुख्खा हुने

पोखरा । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नयाँ वर्षका अवसरमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न विभिन्न कार्यक्रम हुँदै आए पनि कोरोना संक्रमणका कारण लगातार दोस्रो वर्ष त्यो परम्परा टुट्ने भएको छ । सरकारले राति ९ बजेपछि रेष्टुरेन्ट व्यवसाय सञ्चालन नगर्न भनेपछि त झनै यसपालिको नयाँ वर्षमा पर्यटन व्यवसाय सुख्खा हुने भएको छ ।
कोरोना संक्रमण बढ्न थालेसँगै स्थानीय प्रशासनले मेला, महोत्सवमा रोक लगाएपछि अब नयाँ वर्षमा पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमसमेत रोक्ने भएको छ ।
आशन्न नयाँ वर्षको अवसरमा विभिन्न मेला र महोत्सव आयोजना गरेर पर्यटकलाई आकर्षित गर्दै आएका पोखराका व्यवसायीहरु मुख्य सिजनमा पनि सुख्खा बस्नुपर्ने अवस्था आएको भन्दै चिन्तित देखिएका छन् ।
अघिल्लो महिनासम्म कोरोना संक्रमण घट्दै आएकाले विभिन्न कार्यक्रम आयोजना गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न थालेका व्यवसायीहरु पछिल्ला दिनमा अकस्मात संक्रमण वृद्धि हुन थालेपछि फेरि व्यापार–व्यवसाय चौपट हुने चिन्ताले निराश भएका हुन् ।
कोरोना संक्रमण फैलिनुभन्दा अगाडिका वर्ष पर्यटनसँग सम्बद्ध संघ संस्थाहरुको आयोजनामा विभिन्न कार्यक्रम हुने गरे पनि अघिल्लो वर्ष र यस वर्ष संस्थागत रुपमा कुनै पनि विषेश कार्यक्रम आयोजना नगरिएको पोखरा पर्यटन परिषदले जानकारी दिए ।