१४ बैशाख २०८१, शुक्रबार Friday 26 April, 2024

ओलीको आरोप : एमसीसी पास गराउने देउवा र प्रचण्डले नै एसपीजीमा नेपाललाई लैजान खोजे

 मङ्लबार, असार १४ २०७९  

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी जनतालाई धोखा दिएर पास गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै एसपीजीमा नेपाललाई लैजान खोजेको आरोप लगाएका छन् ।

मदन जयन्तीका अवसरमा मंगलवार काठमाडौंमा आयोजित प्रवचन कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री ओलीले एमसीसी जनतालाई धोखा दिएर एमसीसी पास गर्ने देउवा र प्रचण्डले नै एसपीजीमा नेपाललाई लैजान खोजेको तर जनताको खबरदारीबाट पछि हटेको आरोप लगाएका हुन् ।

यस्तै अध्यक्ष ओलीले सुशील कोइरालाको पालामा स्वीकृति दिइएको एसपीपीलाई प्रचण्डले अघि बढाएको भन्दै आफू प्रधानमन्त्री भएको बेला इण्डो प्यासिफिकको प्रतिवेदनमा नेपाल र भुटानको पनि नाम आएपछि आफूले कार्यदल बनाएर रोकेको बताए । एसपीजीमा मुलुकलाई लैजाने खतरा कायमै रहेको र एमसीसीमा जस्तै यो गठबन्धन अर्को जाल लिएर एसपीजीमा सामेल हुने सम्भावना रहेको पनि अध्यक्ष ओलीको भनाई थियो ।

‘एसपीपीका सन्दर्भमा असोज २ मा संविधान जारी भयो ६ गते प्रधानमन्त्री तथा रक्षामन्त्री सुशीला कोइराला भएका बेला सेनालाई स्वीकृति दिइयो । म प्रधानमन्त्री असोज २६ गते भएँ,मलाई थाहा नदिई कात्तिक १० मा सेनापतिको पत्र गयो भनिएको छ । तर त्यो पत्रको चलानी नम्बर टिपेक्स लगाएर हातले लेखिएको छ । पठाएको पत्रमा पनि हातले केरमेट गरेको छ । टिपेक्स लगाएर मेटेर हातले लेखिएको स्पष्ट हुन्छ । म सरकारलाई टिपेक्स नलगाएको ओरिजनल पत्र देखाउन चुनौती दिन्छु ।’

एसपीजीमा केपी ओलीलाई मुछ्नका लागि टिपेक्स लगाएर,चलानी नम्बर फेरेर र मिति हेरफेर गरेको हातले लेखेको पत्र बाहिर ल्याइएको भन्दै उनले यसबारेमा अमेरिकी दूतावासले प्रस्ट पार्नुपर्ने बताए । ओलीले भने- ‘म प्रधानमन्त्री हुनुभन्दा अघिको पत्र हुनसक्छ ,चलानी नम्बर हातले केरमेट गरेको छ । त्यो म प्रम नहुँदै पत्र पठाइएको हो,अमेरिकन एम्बेसीले सत्य बोलोस् । तत्कालीन प्रधान सेनापतिले पनि मैले त्यति बेला निर्देशन दिएको हो कि होइन भन्न सक्नुहुन्छ ।’

ओलीले जनदबाबका कारण पछि हटे पनि गठबन्धनले एसपीजीमा जाने खतरा कायमै रहेको दाबी गरे । उनले अहिले सार्वजनिक भएको मस्यौदा गठबन्धन सरकार बनेपछि तयार भएको भन्दै एमसीसीकै बेला देउवा र प्रचण्डले एसपीजीमा सहमति जनाएको दाबी समेत गरे ।

यस्तै ओलीले राष्ट्रियता भनेको तमासा गर्ने चिज, झुक्याउने चिज नभएको पनि बताए । ओलीले भने,‘एमसीसी शेरबहादुर, पुष्पकमल दाहाल भएर सम्झौता गर्नुभयो, उहाँहरुले पास गर्नुभयो । बीचमा एउटा वातावरण बिगार्नुभयो । किन प्रहरीसँग झडप गर्नु परेको थियो ? किन बाटो हिँड्ने मान्छेलाई ढुंगा हान्नुपर्यो ?’​

प्रतिक्रिया सबै