८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

एमालेद्वारा माओवादीलाई पार्टी एकताको प्रस्ताव !

 आइतवार, भदौ २६ २०७९  

काठमाडौं । सत्ता गठबन्धनका शिर्ष नेताहरुबीच आगामी निर्वाचनमा कुन दलले कति सिट लिने भन्नेबारे यतिबेला छलफल जारी छ । बालुवाटारमा दिनहुँजसो सीट बाँडफाँटबारे छलफल भइरहे पनि अहिलेसम्म भएका सहमति र बाँकी रहेका विषयबारे ब्रिफिङ मात्रै भएको तर, निष्कर्षमा भने पुग्न सकेको छैन ।

बालुवाटारमा आज भएको बैठक स्थगित भयो भने भोलि बिहान ८ बजे फेरि बस्ने बैठकमा छलफल गरिने बताइएको छ । कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलले एक महिना छलफल गरे पनि सिट बाँडफाँट टुंग्याउन नसकेर शीर्ष नेताहरूलाई जिम्मेवारी दिएको थियो । तर, निर्वाचन नजिकिँदै गर्दा सत्ता गठबन्धनमा कुरा नमिल्दा सिट बाँडफाँटको सहमति भने हुन सकेको छैन ।

यसबीच नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई नेकपा एमालेले ६५ देखि ७० सिट दिन प्रस्ताव गरेको चर्चा सुरु भएको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँडमा कुरा नमिलिरहेको अवस्थामा एमालेले माओवादीलाई आकर्षण प्रस्ताव गरेको समाचार सार्वजनिक भएको हो ।

स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीलाई ६५ देखि ७० सिटसम्म दिन सक्ने गरी प्रस्ताव पठाएको हो । बुधबार एमालेका उपाध्यक्ष बिष्णु पौडेलले बुटवलस्थित एक होटलमा आफू निकट केही नेता कार्यकर्तासँगको गोप्य भेटमा अहिलेको गठबन्धन तोड्न सम्भव रहेको चर्चा गरेका थिए ।

उक्त छलफलमा सहभागी एक नेताका अनुसार नेता-कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै नेता पौडेलले माओवादीलाई आफूले ६५ देखि ७० सिटको प्रस्ताव गरेको र कांग्रेसले त्यति सिट दिन नसक्ने भएपछि गठबन्धन टुटाउन सहज हुने बताएका हुन् । यसबारे माओवादी केन्द्रले भने कुनै प्रतिक्रिया जनाएका छैनन् ।

यता गठबन्धनमा माओवादी केन्द्रले आफुले ६० सिट पाउनुपर्ने र कांग्रेसलाई ८० सिट र बाँकी अन्य पार्टीलाई २० सिट दिनुपर्ने माओवादीको अडान राख्दै आएको छ । माओवादीले संघ र प्रदेश निर्वाचनपछि आफूलाई सहजरुपमा नेतृत्व गर्ने वातावरण निर्माण गर्नका लागि बार्गेनिङमा भइरहेको हो ।

कांग्रेस भने गठबन्धन जोगाउनैपर्ने दबाबमा देखिन्छ । शुक्रबार चितवन पुगेर प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताएका हुन् । उनले गठबन्धन तोड्नु भनेको कांग्रेस पार्टीलाई सिध्याउने षड्यन्त्र हुने बताएका थिए ।

त्यसो त कांग्रेसले गठबन्धनकै आडमा स्थानीय तह निर्वाचनमा पनि राम्रो परिणाम ल्याएको देखिन्छ । गृहमन्त्री बालकृष्ण खाणले भने यो कुरा स्वीकारेका छन् । कांग्रेस भातृसंस्था तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गठबन्धनकै कारण स्थानीय तह निर्वाचनमा कांग्रेस पहिलो पार्टी बनेको दाबी गरे । ‘ हामीले गठबन्धनकै आडमा स्थानीय तह निर्वाचनमा राम्रो गर्‍यौं । पहिलो पार्टी बन्यौं । त्यसैले गठबन्धनको क्षमता नबिर्सौं । खोला तरेर लौरो नबिर्सिउँ’, उनले भनेका थिए । वर्तमान गठबन्धन तोडिँदा एमालेसँग वाम गठबन्धन हुने कांग्रेस नेताहरुको बुझाई छ ।

यो पनि

प्रचण्डले गरे ओलीको प्रशंसा !

प्रतिक्रिया सबै