८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

स्थानीय निर्वाचनकै म्यादी प्रहरी खटाउन गृहकार्य

 बिहिबार, साउन २६ २०७९  

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई नै खटाउने तयारी भएको छ ।

प्रहरी प्रधान कार्यालयले यसका लागि आन्तरिक गृहकार्य गरिरहेको हो । सरकारले आउँदो मंसिर ४ गते गर्ने गरी निर्वाचनको मिति घोषणा गरिसकेको छ ।

स्थानीय तह निर्वाचनमा एक लाख म्यादी प्रहरीको भर्ना लिइएको थियो । निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले आवश्यक सुरक्षा रणनीति तयार गरिरहेको छ ।

प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार संघ र प्रदेशको निर्वाचनमा स्थानीयभन्दा बढी जनशक्ति आवश्यक पर्नेछ ।

त्यसका लागि आवश्यक गृहकार्य गरेर गृह मन्त्रालयलाई प्रस्ताव गरिने उनको भनाई छ । उनीहरूलाई निर्वाचनको अनुभव समेत भइसकेकाले काममा लगाउन समेत सहज हुने डीआईजी राईको भनाई छ ।

प्रहरी अधिकारीहरूका अनुसार तिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि एक लाख ३० हजारभन्दा बढी म्यादी प्रहरी आवश्यक पर्ने देखिन्छ ।

डीआइजी राईका अनुसार आसन्न निर्वाचनमा कारागारमा समेत मतदान केन्द्र रहने भएकाले म्यादी प्रहरीको संख्या बढाउनुपर्नेछ । म्यादीबाहेक प्रहरीले सरकारसँग सवारीसाधनलगायत अरू स्रोत–साधनको माग गर्ने तयारी समेत गरेको छ ।

प्रहरी अधिकारीहरूका अनुसार स्थानीयभन्दा संघ र प्रदेशको निर्वाचन सुरक्षाका दृष्टिले समेत चुनौतीपूर्ण हुने देखिन्छ । सबैजसो शीर्ष नेताहरू चुनावी मैदानमा हुने भएकाले सुरक्षा चुनौती बढ्नेउनीहरुको निष्कर्ष छ ।

प्रतिक्रिया सबै