८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

म्यादी प्रहरी भर्ना भदौ ३० देखि, स्थानीय निर्वाचनमा खटिएकालाई प्राथमिकता

 मङ्लबार, भदौ २१ २०७९  

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आवश्यक म्यादी प्रहरी भर्नाका लागि यही भदौ ३० गते आवेदन खुला हुने भएको छ ।

म्यादी प्रहरीको छनोट तालिकाअनुसार भदौ २६ गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरी भदौ ३० देखि असोज ६ गतेसम्मका लागि आवेदन खुलाइने भएको हो ।

यस्तै आवेदन दिएकाहरूलाई असोज ७ गते सम्पर्क राख्न अनुरोध गरिने भएको छ । तालिकाअनुसार असोज ९, ११, १२, १३ र १४ गते ५ दिन भित्र म्यादी प्रहरी छनोट प्रक्रिया पूरा गरिनेछ । असोज २५ गते नतिजा प्रकाशन गरिनेछ भने असोज २७ र २८ गते नियुक्ति पत्रको तयारी गरिनेछ । असोज ३० गते नियुक्ति पत्र वितरण गरिनेछ भने म्यादी प्रहरीको तालिम थालिनेछ ।

कात्तिक ८ गते तालिम सम्पन्न गरी कात्तिक ९ गते युनिफर्ममा प्रहरीसँग डिउटीमा खटाइनेछ । चुनाव सम्पन्न भएपछि मंसिर ८ गते म्यादी प्रहरीलाई बिदा गरिने तालिकामा उल्लेख छ ।

छनोट प्रक्रियामा स्थानीय निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई प्राथमिकता दिइने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए ।

निर्वाचन सुरक्षाबारे पुराना म्यादीलाई थाहा हुने भएकाले पुराना म्यादीहरुलाई नै प्राथमिकता दिइने उनले बताए ।

‘पुराना म्यादीलाई सुरक्षा प्रक्रिया थाहा हुन्छ । उनीहरुलाई पुनः प्रक्रिया बुझाइरहनु पर्दैन । राज्यको स्रोत साधन पनि बचत हुन्छ’, उनले भने, ‘त्यसैले पुरानालाई नै प्राथमिता दिने हो ।’

यो पनि :

एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोल्ने तयारी

 

प्रतिक्रिया सबै