१८ बैशाख २०८१, मंगलवार Tuesday 30 April, 2024

पशुपतिनाथमा राखिएको जलहरीबाट सुन नै गायब !

 शुक्रबार, असार ३१ २०७९  

काठमाडौं । पशुपतिनाथको मूल मन्दिरमा सुन गायब भएको पाइएको छ । सुनको जलहरी राख्ने बेलामा सुन गायब भएको पाइएको हो । १०७ किलो ४९० ग्राम सुन राखिएको भनिएकोमा सुन, तामा, धातु, चाँदी र जिङ्कको प्रयोग गरी सुन गायब बनाइएको महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनले औँल्याएको छ ।

पशुपति क्षेत्र विकास कोषले जलहरीमा ९६ किलो ५१४ ग्राम सुन प्रयोग भएको र बाँकी १० किलो ९७६ ग्रामको रिङ बनाइएको जनाएको छ । तर, महालेखाको प्रतिवेदनले जलहरीमा एक किलो २४९ ग्राम चाँदी, दुई किलो ८९० ग्राम तामा, १२ किलो ७५० ग्राम जिङ्क मिसावट गरी सुन गायब बनाएको उल्लेख गरेको छ ।

जलहरी बनाएर बाँकी रहेको सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने कुनै पनि विवरण पेस नभएको महालेखाले जनाएको छ ।

सुनको जलहरी राख्ने काम प्राचीन स्मारक ऐन २०१३ विपरीत रहेको भन्दै चौतर्फी आलोचना हुन थालेपछि कोषले जलहरी नेपाली सेना र नेपाल प्रहरीको सुरक्षामा निर्माणको काम थालेको थियो । नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजार रुपैयाँमा खरिद गरिएको थियो ।

पशुपतिको शिवलिंगमा सुनको जलहरी राख्न नहुने भन्दै लामो समय विवाद पनि भएको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा जलहरी राख्ने काम अघि बढेको थियो । त्यसकै आधारमा कोषले गोप्य रूपमै जलहरी उद्घाटनको समय तोक्यो ।

ओली नेतृत्वको सरकारले नै ३० करोड र बाँकी कोषको लागतमा सुन खरिद गरिएको थियो । त्यतिबेला अख्तियारमा ११ किलो सुन गायब भएको भन्दै उजुरीसमेत परेको थियो ।

प्रतिक्रिया सबै