१४ बैशाख २०८१, शुक्रबार Friday 26 April, 2024

प्रेमको प्रतीक ‘रानीमहल’

 सोमवार, साउन ३० २०७९  

काठमाडौं । नेपालको ताजमहलका नामले चिनिने ‘रानीमहल’ पाल्पाको तानसेन बजारबाट ८ किलोमिटर उत्तर कालीगण्डकीको किनारमा अवस्थित छ । रानीमहललाई प्रेमको प्रतिकको रुपमा पनि लिइन्छ ।

रानीमहल वि.सं १९५० मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको थियो । यो महल तत्कालीन पाल्पा राज्यका राजा खड्ग शमशेरले आफ्नी दिवंगत पत्नी तेजकुमारीको सम्झनामा बनाएका हुन् ।

यो महल युयानीशैली बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो । यस महलको पूर्व तिर खड्ग शमशेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र मध्य तलामा खड्ग शमशेरका कोठाहरू रहेका छन् । त्यस्तै वरिपरि रहेको बगैंचा र रानी पोखरीले महल आकर्षक देखाएको छ ।

दरबारको मूलढोकाबाट कुँदिएको ढुङ्गा र इँट्टाबाट बनाइएका खुड्किलो तल सिधा कालीगण्डकी नदी कुण्डमा जोडिएको छ । प्रसिद्ध मुक्तिनाथ तिर्थ जाने मुख्यद्वार भएकाले तिर्थालुहरूलाई बस्ने सुविधा सहितका पौवा समेत निर्माण गरिएको थियो । आफ्नी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा दरबारको निर्माण गरिए तापनि पाँच वर्षसम्म मात्र राज गर्न पाएको जानकारहरूको भनाई छ ।

दिवङ्गत रानीको सम्झनामा बनाइएकोले रानीमहल दरबारलाई प्रेमको प्रतिकका रूपमा लिइने गरिन्छ । पछिल्लो समय यो महल हेर्नका लागि जाने पर्यटकको संख्या धेरै छ । विदेशी भन्दा स्वदेशी पर्यटकहरु यहाँ पुग्ने गरेका छन् ।

पछिल्ला वर्षहरुमा हिल स्टेशनको रुपमा प्रचार गरिएपछि यहाँ भारतीय पर्यटकहरु ओइरिन थालेका छन् । रानीमहलसम्म जाने सडकको अवस्था तथा पर्यटकमैत्री संरचना नहुँदा त्यहाँ पुग्ने पर्यटकहरु भने खिन्न हुन्छन् । नेपाल भ्रमण वर्षका क्रममा प्रदेश ५ सरकारले यस महललाई राणाकालीन ढाँचाबाट सिंगारेर पर्यटकीय आकर्षणको केन्द्र बनाउने योजना पर्यटन मन्त्रालयले बनाएको छ । रानीमहललाई तानसेन नगरपालिकाले बौघागुम्हा र बगनासकाली गाउँपालिकासँग मिलेर रानीमहललाई संग्रहालयमा रुपान्तरण पनि गर्ने निर्णय भएको थियो ।

 

प्रतिक्रिया सबै