१२ श्रावण २०८१, शनिबार Saturday 27 July, 2024

सुदूरपश्चिमका ५ ठाउँमा रोकियो मतदान

 शुक्रबार, बैशाख ३० २०७९  

काठमाडौं । विवाद र झडपका कारण सुदुरपश्चिमका ५ ठाउँमा मतदान रोकिएको छ । स्थानीय तह निर्वाचनको क्रममा सुदूरपश्चिमका पाँच पहाडी जिल्लामा दुई पक्षबीच झडप भएको हो ।

पहाडी जिल्ला बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछामका केही ठाउँमा दुई पक्षबीच झडपको स्थिती सृजना भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रवक्ता एसएसपी भोलाबहादुर रावलले जानकारी दिए ।

विवाद पश्चात् बाजुराका एक, बझाङका तीन र कञ्चनपुरको एक ठाउँमा विवादले चुनावी प्रक्रिया रोकिएकोले सुचारु गर्न छलफल भइरहेको उनले बताए ।

बझाङमा झडप भएका मतदानस्थल जयपृथ्वी नगरपालिका वडा नम्बर ७ स्थित सुनिपिपल चौर मावि सुवेडा, केदारस्युँ गाउँपालिका वडा नम्बर ४ स्थित जगन्नाथ माबि सैन्सु र मष्टा गाउँपालिका ५ स्थित द्वारिकानाथ माध्यमिक विद्यालयमा पनि मतदान रोकिएको छ । बाजुराको पाण्डुसैनमा पनि मतदान रोकिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिकामा नक्कली मतदाता आएको भन्दै मतदान प्रक्रिया रोकिएको छ । नेकपा माओवादी केन्द्रका नेताहरुले मत हाल्न पाउने भनी फर्जी मतदातालाई पठाएपछि विवाद भएको हो ।

पुनर्वास नगरपालिका वडा नम्बर १० को विजय माध्यमिक विद्यालय मतदानस्थलमा मतदान रोकिएको कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत मदन धामीको भनाई छ । राजनीतिक दलको बैठक जारी रहेकोले सहमति पश्चात् मतदान सुरु हुने उनले बताए ।

 

प्रतिक्रिया सबै