१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

एमाले १४ स्थानीय तहमा विजयी (विवरण)

 आइतवार, जेष्ठ १ २०७९  

काठमाडौं । वैशाख ३० गते सम्पन्न निर्वाचनको मतपरिणाम अहिले जारी छ । देशभरका जारी स्थानीय तहहरुमा मतगणना परिणाम आउने क्रम छ ।

हालसम्म एमालेले प्रमुख पदमा १४ स्थानीय तहमा विजयी हासिल गरेको छ भने उप्रमुख पदमा ११ स्थानीय तहमा विजयी बनेको छ ।

एमालेले जितेका १४ स्थानीय तह

१. चामे गाउँपालिका, मनाङ

मनाङको चामे गाउँपालिका गाउँपालिका अध्यक्षमा एमालेका लोकबहादुर घले निर्वाचित भएका छन् । उनले ३ सय २० मत पाएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी छिरिङ दोर्जे लामाले २ सय ७९ मत पाए । २०७४ सालको स्थानीय तहमा पनि उनै घलेले २ सय १४ मत ल्याएर विर्नाचित भएका थिए ।

२. शे फोक्सुन्डो गाउँपालिका, डोल्पा
शे फोक्सुन्डो गाउँपालिकामा एमालेका धावा सम्डुक गुरुङ विजयी भएका छन् । २०७४ सालमा पनि एमालेकै टासी तुण्डुप गुरुङ विजयी भएका थिए ।

३. डिस्याङ गाउँपालिका, मनाङ
मनाङको डिस्याङ गाउँपालिकामा एमालेका कान्छा घले ८ स ६१ मत पाएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका छिरिङ ओङमा गुरुङले ७ सय १३ मत पाएका छन् । २०७४ सालमा यो गाउँपालिकामा एमालेका कान्छा घले ६ सय २७ मत ल्याएर विजयी भएका थिए ।

४. थासाङ गाउँपालिका, मुस्ताङ
मुस्ताङको थासाङ गाउँपालिकामा एमालेका प्रदिप चौचन विजयी भएका छन् । उनले ११ सय ४४ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार बालकुमारी शेरचनले १ हजार ५५ मत पाए । २०७४ सालमा यो गाउँपालिकामा काँग्रेसका बुद्धिप्रसाद शेरचनले ७२८ मत ल्याएर विजयी भएका थिए ।

५. लो–घेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ
यो गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट ६ सय ८९ मत पाएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीले १ सय ८५ मत पाएका छन् ।
२०७४ सालको स्थानीय तहमा यो स्थानीय तहमा स्वतन्त्र उम्मेदवार लोप्साङ छोम्पेल विष्ट ७ सय ५५ मत ल्याएर विजयी भएका थिए ।

६. लोमान्थाङ्ग गाउँपालिका, मुस्ताङ
मुस्ताङको लोमान्थाङ्ग गाउँपालिका अध्यक्षमा ६ सय ६८ मत पाएर एमालेका टसी नुर्बु गुरुङ निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका टासी गुरुङले ५ सय १४ मत पाएका छन् । २०७४ सालको चुनावमा यहाँ नेपाली काँग्रेसका सुवर्णकुमार विष्ट ६ सय ३ मत पाएर विजयी भएका थिए ।

७. वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
यो गाउँपालिका अध्यक्षमा एमालेका रिङजीन नामगेल गुरुङ ८ सय ६७ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका आङजेन गुरुङले ५ सय ७७ मत ल्याएका छन् । २०७४ सालको स्थानीय चुनावमा यो गाउँपालिकामा काँग्रेसका फेन्चोक छेप्तेन गुरुङ ६ सय ५४ मत ल्याएर विजयी भएका थिए ।

८. मालिका गाउँपालिका, म्याग्दी
यो गाउँपालिका अध्यक्षमा एमालेका बेग प्रसाद गर्बुजा ३ हजार ९१ मत पाएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका श्री प्रसाद रोकामगरले २ हजार ९ सय ७० मत पाएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा यो गाउँपालिकामा नेपाली काँग्रेसका श्रीप्रसाद रोकामगर २७ सय ६ मत ल्याएर विजयी भएका थिए ।

९. बौदीकाली गाउँपालिका, नवलपुर
यो गाउँपालिका अध्यक्षमा एमालेका प्रकाश ओझा ३ हजार ९ सय ७६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका खड्क बहादुर रानाले ३ हजार ५ सय ४१ मत ल्याएका छन् । २०७४ सालको स्थानीय तहमा यहाँ नेपाली काँग्रेसका दुर्गाबहादुर राना विजयी भएका थिए । उनले ३ हजार १ सय ९१ मत ल्याएका थिए ।

१०. थलारा गाँउपालिका, बझाङ
यो गाउँपालिका अध्यक्षमा एमालेका प्रकाशबहादुर रोकाया २७ सय ७४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २१ सय १२ मत पाए । यो गाउँपालिकामा २०७४ सालमा एमालेकै भुवनेस्वर उपाध्याय २७ सय ७८ मत पाएर विजयी भएका थिए ।

११. खुम्वु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बु
यस गाउँपालिकामा एमालेका मिङ्माछिरी शेर्पाले २ हजार २८ मत पाएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका चुङब शेर्पाले १६ सय ९ मत पाएका छन् । २०७४ सालको चुनावमा पनि एमालेकै ङिमदोर्जी शेर्पा १४ सय २४ मत ल्याएर विजयी भएका थिए ।

१२. साइपाल गाँउपालिका, बझाङ
यो गाउँपालिका अध्यक्षमा एमालेका मानवीर बोहोरा ६ सय ७५ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका उजले बोहोराले ६ सय १३ मत पाएका छन् । २०७४ सालको चुनावमा यो स्थानीय तहमा काँग्रेसका राजेन्द्रबहादुर धामी ३ सय ९४ मत पाएर विजयी भएका थिए ।

१३. हरिनास गाउँपालिका, स्याङ्जा
यो गाउँपालिका अध्यक्षमा एमालेका खिम नारायण मानन्धर ४ हजार ७ सय ६९ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका टोपबहादुर भुजेल ४ हजार ७ सय ३१ मत पाएका छन् । २०७४ सालमा पनि यहाँ एमाले नै विजयी नै भएको थियो ।

१४. महाकाली नगरपालिका, दार्चुला
यो नगरपालिका प्रमुखमा एमालेका नरसिंह चैसिर ५ हजार ३ मत पाएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी काँग्रेसका हंसराज भट्टले ३ हजार ८ सय ८८ मत पाएका छन् । २०७४ सालमा काँग्रेसले जितेको थियो ।

प्रतिक्रिया सबै