८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

अमेरिकाले प्रस्ताव गरिरहेको इन्डोप्यासिफिक स्टार्टेजी सैन्य गठबन्धन होईन : परराष्ट्रमन्त्री खड्का

 मङ्लबार, जेष्ठ ३१ २०७९  

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकाले प्रस्ताव गरिरहेको इन्डोप्यासिफिक स्टार्टेजीलाई सैन्य गठबन्धन नभएर मानवीय सहयोगका लागि बनेको एउटा कार्यक्रम भएको बताएका छन् ।

प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले इन्डोप्यासिफिक कुनै औपचारिक एलायन्स नभएको बताएका हुन् ।

‘यो नेपाललाई सैन्य गठबन्धनमा लिने सम्झौता हो कि भनेर प्रश्न उठिरहेको छ । हिजो एमसीसी पारित गर्दा पनि हामीले इन्डो प्यासिफिक स्ट्राटेजीका कुरा गर्‍यौँ । इन्डो प्यासिफिक कुनै फर्मल एलायन्स केही पनि होइन । इन्डियन ओसियनबाट वेस्ट ओसियनसम्मको एउटा कनेक्सन हो’, उनले भने ।

दुईवटा महासागर इन्डियन ओसियन र पश्चिम प्रशान्त महासागरमा पर्ने भू–भागलाई जोड्ने कन्सेप्ट नै इन्डोप्यासिफिक भएको उनले बताए । ‘यो भागमा रहेका करिब २४ वटा देशहरूसँग एउटा खुला व्यापार, सार्वभौमताको सम्मान गर्ने यी कुराहरूलाई लिएर बनेको एउटा लुज अर्गनाइजेसन हो,’ उनले भने, ‘मैले बुझेअनुसार फर्मल ट्रिटी केही पनि होइन । त्यसअन्तर्गत पहिले एमसीसी र अहिले एसपीपी ।’

स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अमेरिकाको संघीय सरकारसँग भएका प्रोग्रामलाई पास गरेर मानवीय सहयोगमा प्राकृतिक प्रकोपलाई सम्बोधन गर्ने, सांस्कृतिक क्षमताहरू आदानप्रदान गर्ने, अभिवृद्धि गर्ने कुराहरूका लागि आएको उनको भनाई छ । ‘पार्टनरसिप भन्नेबित्तिकै ट्रिटी होइन । साझेदार अस्थायी खालको एउटा कन्सेप्ट हो । कुनै एउटा खास मिसनपछि जान्छ । केही समय बस्छ,’ उनले भने, ‘यहाँ कुनै मिलिटरी आएकै छैन ।’

 

प्रतिक्रिया सबै