९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

विश्वकप लिग टु : ओमनमाथि नेपालको शानदार जित

 बुधबार, असार १ २०७९  

काठमाडौं । अमेरिकामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु श्रृंखला अन्तर्गत खेलमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ ।

आसिफ शेख र कुशल भुर्तेलले ओपनिङमा कीर्तिमानी साझेदारी गरेपछि ओमानले दिएको १६४ रनको लक्ष्य नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको छ ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४६.१ ओभरमा सबै विकेट गुमाएर १६३ रनमा अलआउट भएको थियो । लिग टुमा सातौं जित निकालेको नेपाल १५ खेलबाट १५ अंक जोडेर पाँचौ स्थानमा उक्लेको छ ।

ओमानका लागि कप्तान जिसन मक्सुदले सर्वाधिक ५२ रन बनाए । यस्तै सन्दिप गौडले ४७ रन जोडे । ४९ रनमा ५ विकेट गुमाएको अवस्थामा मक्सुद र गौडले ८३ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । यस्तै ओपनर जतिन्दर सिंहले २३ र नसिम खुशीले १० रन जोडे । फयज बट १३ रनमा अविजित रहे ।

नेपालका लागि करण केसीले ९ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए । उनले पहिलो खेलमा ओमान विरुद्ध नै ५ विकेट लिएका थिए । यस्तै कप्तान सन्दीप लामिछानेले १० ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।

अब नेपालले श्रृंखलाको अन्तिम खेलमा आजै अमेरिकासँग खेल्नेछ ।

प्रतिक्रिया सबै