९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

सुशील कोइरालाले अघि बढाएको एसपीपी सम्झौता मैले ‘च्याप्टर क्लोज’ गरेको हो: केपी ओली

 शुक्रबार, असार ३ २०७९  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सैन्य सम्झौता एसपीपी कांग्रेसबाट तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले सुरु गरेको बताएका छन् ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई दिइएको दुई दिने प्रशिक्षणको समापन कार्यक्रमलाई शुक्रबार सम्बोधनका क्रममा अध्यक्ष ओलीले त्यसबेला एमालेलाई सत्ता बुझाउने सहमति भइसकेको अवस्थामा कोइरालाले यसलाई अघि बढाएको बताएका हुन् ।

‘कसैले एउटा भ्रम फिँजाइरहेको छ खै के आयो त यस्तो भन्दैछन्। केपी ओलीकै पालमा स्टेट पार्टनरसी प्रोग्राम ल्याएको थियो भनिरहेका छन् । म दिनसहित भन्न सक्छु। नेकपा एमाले यस्तो कुरामा सदैव अत्यन्त सजग छ। २०७२ साल असोज ६ गते सुशील कोइरालाले यसलाई अघि बढाएका हुन्। संविधान जारी भएको ३ दिनपछि आफू सरकारबाट हट्ने तय भएका बेला उनले यो सम्झौता अघि बढाएका थिए’, अध्यक्ष ओलीले भने ।

‘एमालेसँगको सहमतिपछि आफूले सरकार सुम्पिने निश्चित थियो । असोज ६ गते प्रधानमन्त्री र रक्षामन्त्री एकै जना सुशील कोइराला थिए। कोइरालाले रक्षामन्त्रीको हैसियतमा उक्त निर्णय गर्नु भएछ। स्टेट पार्टनरसिप प्रोग्राममा असोज ६ गते नेपाल पनि पक्ष राष्ट्र होस् भनेर निर्णय गर्नु भएछ । ओलीले भने, असोज ६ गतेको उक्त निर्णय असोज १३ गते सैनिक हेडक्वार्टरलाई पठाइयो। २०७२ असोज २४ गते म प्रधानमन्त्री भएँ। २५ गते शपथ लिए। त्यही निर्णयका आधारमा कात्तिक १० गते प्रधानसेनापतिले अमेरिकी राजदूतावासलाई पत्र लेखेका रहेका छन्। कोइरालाको त्यही मन्त्रिस्तरीय निर्णयबाट राजेन्द्र क्षत्रीले दूतावासलाई लेखेका रहेछन् ।’

ओलीले नेपालले तटस्था र असंलग्नताको नीति मानिरहेको पनि बताए । ‘कुनै सैन्य गठबन्धनमा सहभागी हुँदैनौँ भनेर प्रदीप ज्ञवाली परराष्ट्र मन्त्री र रक्षा मन्त्री ईश्वर पोखरेल हुँदा परराष्ट्र सचिव नेतृत्वमा बनेको छानबिन समितिले ठहर गरेको थियौँ’, उनले भने । ‘यो सैन्य सम्झौता उपयुक्त होइन भनेर त्यतिखेरै भनिएको छ। सैन्य संगठनमा हामी कुनै पनि अवस्थामा कहिले पनि आवद्ध हुँदैन भनेका छौँ। हामी पञ्चशीलका सिद्धान्त मान्छौँ। त्यही अनुसार हामीले च्याप्टर क्लोज गरेको विषय अहिले जोडिँदैछ। त्यो सुशील कोइरालाले सुरु गरेको हो, हामीले होइन ।

प्रतिक्रिया सबै