४ जेष्ठ २०८१, शुक्रबार Friday 17 May, 2024

टिकटक-फेसबुकमा जथाभावी अरुको फोटो राख्दा एक वर्ष जेल

 शुक्रबार, असार ३ २०७९  

काठमाडौं । आजभोली टिकटक—फेसबुकमा जथाभावी भिडियो खिचेर टिकटक बनाएर राख्ने प्रवृत्तिहरु मौलाएको छ । तर, आफ्नो मनोञ्जनका लागि अरुको भिडियो जथाभावी राख्दा कारबाहीको भागिदार हुनुपर्ने छ ।

अरुको अनुमति नलिई जथाभावी खिचिएका भिडियो यसरी सामाजिक सञ्जालमा अपलोड गर्नु ‘अपराध’ मानिन्छ । ‘यो विद्युतीय अपराध हो,’ ‘यस्तो कृत्य गर्नेलाई दण्ड जरिवानाको सजाय हुन्छ ।’

कुनै व्यक्तिको फोटो भिडियो उसको अनुमति बिना हाल्यो भने उसको गोपनीयता भंग हुन सक्छ । जसरी कसैको घरमा बिना अनुमति पस्न पाइँदैन, त्यसरी नै कसैको अनुमति बिना उसको फोटो भिडियो पनि राख्न पाइदैन् ।

कसैको अनुमति बिना उसको फोटो भिडियो फेसबुक तथा टिकटकमा राख्न पाइँदैन भन्ने कुरा कानुनमा पनि छ । तर यो कानुनको विषयमा कसैलाई मात्र थाहा छ । यस्तो तस्वीर र भिडियो सामाजिक सञ्जालमा राख्न पाइन्छ, यस्तो पाइँदैन भन्ने जानकारी सरकारी स्तरबाटै दिनु जरुरी छ । यो विषयमा थाहा नभएका कारण नै यस्ता समस्या बढिरहेको छ ।’

एक वर्ष जेल, १० हजार जरिवाना

अर्काको कुनै पनि व्यक्तिगत तस्वीर र भिडियो सामाजिक सञ्जालमा राख्नुअघि उसलाई सोधिएन भने उसको गोपनीयताको हनन् हुने महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनाली बताउँछन् ।

मुलुकी अपराध संहिता ऐन २०७४ को भाग—३ मा व्यक्तिगत गोपनीयता र प्रतिष्ठा विरुद्धको कसुर छ । अनुमति बिना कुनै पनि व्यक्तिको फोटो भिडियो खिच्न वा स्वरूप बिगार्न नहुने भन्ने उल्लेख छ । यस्तो कसुर गर्ने र गराउने व्यक्तिलाई एक वर्षसम्म कैद १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने भन्ने उल्लेख भएको मैनालीले बताएका छन् ।

‘यो विषयमा अहिलेसम्म धेरै उजुरी त परेको छैन । तर यो विषयलाई साइबर ब्युरोले पनि हेर्ने भएकाले उता पनि उजुरी परेको हुनसक्छ ।’

कानुनमा यस्तो छ व्यवस्था

आफ्नो व्यक्तिगत भिडियो त छँदैछ, अरूको भिडियो समेत खिचेर थाहै नदिई हालिदिने प्रवृत्ति छ यो अपराध हो भन्ने कुराको ज्ञान नै धेरैलाई छैन । कुनै पनि सार्वजनिक स्थलको फोटो भिडियो खिच्दा कोही व्यक्तिको फोटो आयो भने त्यसलाई भने कसुर मानिंदैन । तर कुनै व्यक्तिलाई लक्षित गरेर फोटो भिडियो खिच्न र त्यसलाई तोडमोड गरेर अपलोड गर्न पनि नपाइने अधिवक्ता प्रवीन भण्डारी बताउँछन् । ‘यो प्रतिलिपि अधिकार विपरीत र गोपनीयताको कसुर हो ।’

यस्तो कसुर गर्ने र गराउने व्यक्तिलाई एक वर्षसम्म कैद १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने भन्ने उल्लेख छ । तर विद्युतीय माध्यमबाट कसैको गोपनीयता भंग गर्दा भने दुई वर्षसम्म कैद र २० हजारसम्म जरिवाना वा दुवै सजाय हुने उनले बताएका छन् ।

यो व्यक्तिवादी फौजदारी हो । त्यसैले यसको उजुरी गर्न आरोप पत्र लिएर अदालत नै जानुपर्ने भण्डारी बताउँछन् । ‘यस किसिमको अपराध व्यक्तिवादी हो भने आफैंले प्रमाण जुटाउनुपर्छ प्रहरीले मद्दत गर्दैन, सरकारवादी हो भने मात्र प्रहरीकहाँ जाने हो ।’

जथाभावी अरूको फोटो भिडियो खिचेर हाल्नु हुँदैन भनेर कानुनमा नै भनिएको छ । तर यो विषयमा धेरैलाई जानकारी छैन, त्यसैले यस विषयमा धेरै जनचेतना र चेतना जरुरी छ ।

 

प्रतिक्रिया सबै