८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

मल बिना नै धान रोप्दै किसान

 आइतवार, असार ५ २०७९  

काठमाडौं । मनसुन चाँडै सुरु भएर वर्षा हुन थालेपछि हिमाली जिल्ला म्याग्दीको लेकाली क्षेत्रमा धान रोपाइँ सुरु भएको छ ।

रासायनिक मल नपाएपछि किसान धानखेतीका लागि विनामल खेत रोप्न बाध्य भएका छन् । “पानी परेर खेतका गरा भरिएका छन्, ब्याडमा बीउ बढेर घाँस बन्न थालेको छ, मल पाइन्छ कि भनेर केही दिन कुरेका हौँ”, अहिलेसम्म पनि मल नपाइएपछि विनामल नै रोपाइँ सुरु गरेका छौँ”, बेनी नगरपालिका–२ का सानालेखका नारायण सापकोटाले भने ।

विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै रोपाइँ सुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भए पनि यस वर्ष छिटो पानी परेकाले रोपाइँ सुरु गरिएको स्थानीय किसानको भनाइ छ । पानीको समस्या नभएपछि विनामल नै किसानले रोपाइँ गरेका छन् । कतिपय किसानले त धानको बीउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन् ।

“समयमै पानी परेकाले रासायनिक मल पाइए यस वर्ष धानको उत्पादन बढ्ने थियो तर मलविना नै खेती गरेका छौँ, धानबाली पनि मकै बालीजस्तै हुने हो कि भन्ने चिन्ता छ”, पाखुका कृषक भविलाल घिमिरेले बताए ।

उनका अनुसार मकैबाली लगाएपछि एकपटक पनि रासायनिक मल नहाल्दा घोगा लाग्नै सकेको छैन, लागेको घोगामा पनि दाना पसेको छैन । त्यसैगरी रोपाइँका लागि कृषि मजदुरको पनि समस्या देखिएको किसानले बताएका छन् ।

खेतमा काम गर्ने रोपार र लाठे नपाउँदा कतिपय किसान घरमा भएकै जनशक्तिले धान रोपाइँमा जुटेका छन् । रोपाइँमा लाग्ने जनशक्ति नहुँदा खेतमा भरिएको पानी सुक्ला भन्ने डर र चिन्ताले किसानलाई सताएको छ ।

कृषि प्राविधिक जगत बानियाँले पछिल्लो समय खेतमा काम गर्ने जनशक्ति नहुँदा किसानलाई समस्या परेको बताएका छन् । किसानले यस वर्ष धान रोपाइँ छिटो भएकामा खुसी भए पनि मल नपाउँदा भने दुःख लागेको भन्दै सरकारलाई जतिसक्दो छिटो मल उपलब्ध गराइदिन माग गरेका छन् ।

प्रतिक्रिया सबै