१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

‘विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरौँ’

 सोमवार, असार ६ २०७९  

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा रहेका नेपालीहरुले पनि आगामी हुने निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न आग्रह गरेका छन् ।

पार्टी सभापति एवम् प्रधानमन्त्री देउवालाई महामन्त्रीद्वय थापा र शर्माले सोमबार बालुवाटार पुगेर भेटवार्ता गरेका हुन् । त्यसक्रममा पार्टी र सरकार सञ्चालन तथा सार्वजनिक सरोकारका विषयमा सभापति देउवाको ध्यानाकर्षण गराएको महामन्त्री शर्माले बताए । ‘सर्वोच्च अदालतले दुई वर्ष अगाडि नै विदेशमा रहेका नेपालीहरुले पनि मतदान गर्न पाउने व्यवस्था गर्न सरकारलाई कानुन निर्माण गर्न र आवश्यक वातावरण बनाउन आदेश दिइसकेको छ, तर स्थानीय तह निर्वाचनमा त्यस्तो प्रबन्ध हुन सकेन,’ उनले भने, ‘आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरुले पनि मतदान गर्न पाउने व्यवस्था होस् भनेर प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराएका छौँ’

भेटमा शर्मा र थापाले प्रधानमन्त्री देउवालाई अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल आबद्ध हुन नसक्ने भनेर पत्राचार गर्न पनि आग्रह गरेका छन् । ’एसपीपीको विषय राष्ट्रहितमा छैन । यसमा राष्ट्रिय सहमतिको बातावरण बनाउनुस् र हामी कहिल्यै पनि सहभागी हुदैनौँ भनेर पत्राचार गरौँ,’ महामन्त्रीद्वय शर्मा र थापाको सुझाव छ । महामन्त्री शर्माले एसपीपीमा सधैँको लागि च्याप्टर क्लोज गर्नुपर्ने सुझाव राखेको बताए ।

उनले पुँजीबजारमा भइरहेको आन्दोलनलाई समेत सम्बोधन गर्न सुझाव दिएको बताए । महामन्त्री शर्माका अनुसार भेटका क्रममा पार्टीको महाधिवेशन भएको छ महिना बित्न लागेको, र त्यो अवधिमा पूरा गर्नैपर्ने कतिपय विधानले तोकेका कार्यहरु रहेको भन्दै ती कार्य पूरा गर्नुपर्ने, भ्रातृ संस्थाको पदाधिकारी नियुक्ति गर्नुपर्ने, नीति महाधिवेशन बोलाउने लगायत कामको लागि प्रक्रिया अघि बढाउनुपर्ने बारे छलफल भएको छ ।

प्रतिक्रिया सबै