८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

मनोज पाण्डेलाई थुनामा पठाउन अदालतको आदेश

 सोमवार, असार ६ २०७९  

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोग लागेका मनोज पाण्डेलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

आठ वर्षअघि भएको सौन्दर्य प्रतियोगिताकी प्रतिष्पर्धीलाई पाण्डेलाई जिल्ला अदालत, काठमाडौंले मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार उनलाई डिल्लीबजार कारागार पठाइएको हो । गत ४ जेठमा घटनाका पीडितले सामाजिक सञ्जाल टिकटकमार्फत २० वटा भिडियो क्लीप सार्वज्निक गर्दै आफूमाथि पाण्डेले पटकपटक बलात्कार गरेको खुलासा गरेकी थिइन् । पाण्डेले ‘सक्सेस पार्टी’ नाममा बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको उनले बताएकी थिइन् ।

पीडितले बयानका क्रममा भनेकी छन्, ‘वेलकम ड्रिंक भनेर दिएको लेमनेड खानेवित्तिकै म लठ्ठिएँ, त्यसपछि घर जान खोज्न पनि दिइएन । आराम गर्न भन्दै मलाई एउटा कोठामा बस्न भनिएको थियो, त्यहाँ आराम गरेको मैले बिहान एकैपटक आफूलाई नग्न अवस्थामा पाएको थिएँ ।’ आफ्नो नग्न तस्वीर खिचेको भन्दै त्रासमा राखेका कारण घटनाबारे त्यसबेला बोल्न नसकेको उनको भनाई छ । घटनाबारे तत्कालीन कोरियोग्राफर एवं पूर्वमिस नेपाल माल्भिका सुब्बा लगायतलाई बताए पनि राम्रो साथ नपाएको उनको आरोप थियो ।

हदम्यादका कारण जबरजस्ती करणीको कसूरमा अनुसन्धान गर्न जटिलता सिर्जना भएपछि देशव्यापीरुपमा पीडितको पक्षमा प्रदर्शन पनि भयो । यही घटनाका सडकदेखि सदनसम्म जबरजस्ती करणीको कसूरमा हदम्याद हटाउन आवाज उठेको थियो । पीडितको पक्षमा आन्दोलन चर्किन थालेपछि प्रहरी मानवबेचिबखन तथा ओसारपसार सम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

 

प्रतिक्रिया सबै