१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

रवि लामिछानेले खोले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’

 मङ्लबार, असार ७ २०७९  

काठमाडौं । चर्चित टेलिभिजनकर्मी रवि लामिछाने अब औपचारिक रुपमा राजनीतिमा होमिएका छन् । मंगलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन् ।

‘म यही मञ्चबाट नयाँ राजनीतिक दल खोल्ने घोषणा गर्छु । हाम्रो पार्टीको नाम हुनेछ ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, उनले भने ।

यस्तै उनकबो पार्टीको चुनाव चिन्ह घण्टी रहेको छ । २१ सदस्य रहेको पार्टी आजै निर्वाचन आयोगमा दर्ता गरिने लामिछानेले बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय बसुन्धरामा आजैदेखि सञ्चालन हुने लामिछानेको भनाई छ ।

यस्तो छ ‘राष्ट्रिय स्वतन्त्र पार्टी’का ७ व्यवस्था
राजनीतिमा होमिएका लामिछाने आफ्नो पार्टीका संरचनाबारे जानकारी गराएका छन् । उनले मंगलबार आयोजित घोषणा सभामा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को सात विशेषताबारे जानकारी गराए ।

आफूले प्रस्तावित गरेको पार्टीले प्रत्यक्ष निर्वाचिन प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्मको विशेषता प्रस्तुत गरेका छन् । आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा गर्दै उनले स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने बताए । लामिछानेले आफ्नो पार्टीको सात विशेषता यसरी सुनाए ।

१. प्राइमेरी निर्वाचन हुने
२. युवालाई ५० प्रतिशत एकको व्यवस्था
३. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने
४. राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था
५. डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने
६. परिवारवादलाई पूर्ण रूपमा निषेध
७. भ्रातृसंगठन र कार्यकर्तारहित

निर्वाचन आयोगमा दल दर्ता
लामिछाने घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । राष्ट्रिय सभामा आयोजित कार्यक्रममा नयाँ पार्टी घोषणा गरेसँगै रवि दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए । घण्टी चुनाव चिन्हसहित उनले दल दर्ता गराएका हुन् । दल दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीमा हाल चिनिएका अनुहार नभए पनि देशलाई चिनेका अनुहारहरु भएको उनले बताए ।

रबिको प्रतिवद्धता
मंगलबार राष्ट्रियसभा गृहमा नयाँ पार्टी घोषणा गर्दै रबिले आफ्नो पार्टीले कहिल्यै कसैसँग चन्दा नलिने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘चन्दाको गन्धा धन्धा हाम्रो पार्टीले कहिल्यै गर्दैन’, लामिछानेले भनेका छन् । लामिछानेले मंगलबारको पार्टी घोषणा कार्यक्रमको आर्थिक प्रवन्धका लागि पनि कुनै व्यवसायीहरूसँग चन्दा नमागेको बताए ।

यस क्रममा उनले आफ्नो पार्टीको अवधारणा पनि सार्वजनिक गरेका थिए । आफ्नो पार्टीको भ्रातृ संगठनहरू नहुने पनि घोषणा गरेका थिए । यस्तै, यस पार्टीले प्रत्यक्ष प्रधानमन्त्री र मुख्यमन्त्री अवलम्वन गर्ने लामिछानेको भनाई छ ।

सरकारले आगामी मंसिरमा संघीय र प्रदेश निर्वाचनको तयारी गरिरहँदा लामिछानेले टेलिभिजन पत्रकारिता छाड्दै राजनीतिमा प्रवेश गरेको औपचारिक घोषणा गरेका हुन् ।

यस्तै, आफू व्यवस्था बदल्न नभई नेपाली जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा होमिएको बताउँदए उनले जनतालाई कुनै ठुला सपना नबाँड्ने तर जनताले भोग्नुपरेका समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।

अरू पार्टीभन्दा आफ्नो पार्टी फरक हुने दाबी गरेका लामिछानेले प्रमुख पार्टी र तिनका नेताहरूबाट कुनै आशा नभएकाले नयाँ पार्टी खोल्नुपरेको दाबी गरे । नयाँ पार्टी भ्रातृ संगठन र कार्यकर्ताविहीन हुने समेत बताए ।

‘हामीले जहिले पनि बेकारमा सरकारी अड्डाहरूमा झन्झट बोक्नुपर्ने अवस्था आएको छ । यहाँ ठुलाठुला आयोजना, ठुलाठुला योजना र ठुलाठुला सपनाको कुरा छोड्दिऔँ । बिचौलियारहित सरकारी अड्डा र ढिलासुस्ती नगरी, कसैलाई नचिनी जान पाए पनि आम मान्छेको जीवन सहज हुन्थ्यो । यी सामान्य मुद्दामा कसैको ध्यान गएन’, उनले भने, ‘मलाई कुनै पनि व्यवस्थाले यदि कसैसँग हिम्मत साहस, आँट र भिजन छ भने नागरिकलाई सुख दिन सक्छ भन्नेमा पूर्ण विश्वास छ । मलाई कुनै व्यवस्था बदल्नु छैन, मलाई तपाईंहरूको अवस्था बदल्नु छ । आम मान्छेको अवस्था बदल्नु छ । राजनीतिलाई मागी खाने भाँडो बनाएको असह्य भएर म राजनीतिमा प्रवेश गर्न आएको हुँ ।’

 

प्रतिक्रिया सबै