१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

भूकम्पले अफगानिस्तानमा ९२० जनाको मृत्यु

 बुधबार, असार ८ २०७९  

काठमाडौं । अफगानिस्तानमा बुधबार बिहानै आएको भूकम्पमा परी कम्तीमा नौ सय २० जनाको मृत्यु भएको छ । प्रकोप व्यवस्थापन अधिकारीहरुका अनुसार ६.१ रेक्टर स्केलको भूकम्पमा परी छ सयभन्दा धेरै घाइते भएका छन् ।

पहाडी इलाकामा भूकम्प गएका कारण हताहतीको संख्या अझै बढ्ने अनुमान गरिएको डनले जनाएको छ । अफगानी मिडियाहरुले भूकम्पपछिको दृश्यहरु सार्वजनिक गरिरहेका छन् जहाँ मानिसका घरहरु भग्नावशेषमा बदलिएको र जमिनमा शवहरु असरल्ल देखिएका छन्। घाइतेको उद्धारका लागि, मेडिकल सामग्री आपूर्तिका लागि हेलिकप्टरहरु परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

सनाखत भएको मृत्यु धेरैजसो पूर्वी प्रान्त पक्तिकाका रहेको बताइएको छ। त्यहाँ मात्रै २५५ मानिसको मृत्यु र २ सय बढी घाइते भएका थिए । त्यस्तै खोस्ट प्रान्तमा २५ जनाको मृत्यु र ९० जनालाई अस्पताल लगिएको छ ।

 

बुधबारको भूकम्प सन् २००२ यताकै विनाशकारी रहेको बताइएको छ। अमेरिकी भौगर्भिक सर्वेका अनुसार १ः५४ बजे (पीएसटी) खोस्ट सहरबाट ४४ किमि दूरीमा पाकिस्तानसँगको सीमानजिकै भूकम्प गएको थियो । पाकिस्तान र भारतमा समेत थाहा हुने गरी भएको भूकम्प ५ सय किमिमा झण्डै ११ करोड ९० लाख मानिसले थाहा पाएका थिए ।

 

प्रतिक्रिया सबै