११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

नलगाडका पुरुषले पाउने भए विदुर भत्ता

 बिहिबार, असार ९ २०७९  

काठमाडौँ । जाजरकोटको नलगाड नगरपालिकाले ६० वर्षमाथिका विदुर पुरुषलाई भत्ता दिने निर्णय गरेको छ ।

बिहीबारको कार्यपालिका बैठकले उक्त निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए । आगामी आर्थिक वर्षदेखि त्यो लागू हुनेगरी उक्त नियम जारी गरिएको छ । पछिल्लो समयमा यहाँ छोराले बुहारी ल्याउने बित्तिकै बुढाबुढीलाई अलग्गै राख्ने प्रचलन बढेको छ । जसले उनीहरू बिचल्लीमा परेको देखिन्छ ।

अहिले एकल महिलासँगै एकल पुरुषले पनि समस्या भोगिरहेका धेरै घटना सार्वजनिक भएका छन् । एकल पुरुषका समस्या बुझेर विदुर भत्ता उपलब्ध गराउन थालिएको नगरप्रमुख डम्बर रावतले बताए । नगरपालिकाको नयाँ जनप्रतिनिधिको पहिलो बैठकले सो निर्णय गरेको थियो । त्यस्तै बैठकले गर्भवती र सुत्केरीलाई निस्शुल्क रूपमा यातायात सेवा उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

नगरपालिकाको एम्बुलेन्स सेवा अब सुत्केरी तथा गर्भवतीका लागि नि:शुल्क रूपमा प्रयोग हुने भएको हो । आर्थिक अभावकै कारण धेरै महिलाले सुत्केरी हुन नसकेर समस्या भोगिरहेको भन्दै यस्तो निर्णय गरिएको अधिकृत गिरीले बताए ।

प्रतिक्रिया सबै