९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

एमालेले रातो किताब च्यातेपछि…

 शुक्रबार, असार १० २०७९  

काठमाडौं । नेकपा एमालेले बजेट पुस्तिका च्यातेपछि पोखरा महानगरपालिकाको नगरसभा अवरुद्ध भएको छ । एमाले तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले बजेट पारित हुनुअगावै रातो किताबमा प्रकाशन गरिएको भन्दै विरोध जनाएको थियो । त्यसपछि बजेट प्रस्तुत हुने कार्यक्रम प्रभावित भएको हो । महानगरले शुक्रबार करिब साढे ८ अर्बको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

एमाले दलको नेता राधिका शाहीले शुक्रबार अपराह्न साढे ४ बजे नगरसभा हुनेबित्तिकै रातो किताब च्यात्दै बजेटमा आफूहरुको सहभागिता नहुने बताइन् । एमालेले बजेट पारित हुनुअगावै रातो किताब प्रकाशन गरिएको भन्दै आपत्ति जनाएको छ ।

मेयर धनराज आचार्यले किताब मस्यौदामात्र भएको र अन्तिम रातो किताब नभएको बताएका थिए । ‘महानगरको नम्बर नघटोस् भनेर ‘लिजा’ (स्थानीय तह स्वमूल्यांकन प्रणाली)मा चढाउनका लागि लेखा शाखाले नियमित कामका क्रममा बजेट ड्राफ्ट तयार गरेको हो,’ मेयर आचार्यले भनेका थिए । यस विषयमा उपमेयर मञ्जुदेवी गुरुङले रातो किताब किन प्रकाशन गरियो भन्नेमा आफूसमेत अनभिज्ञ रहेको बताइन् ।

एमाले तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले आफूहरुको अधिकार सुनिश्चित हुनुपर्ने माग गरेका छन् । मेयरको जवाफबाट चित्त नबुझेपछि एमाले जनप्रतिनिधिहरु पोखरा सभागृहबाहिर नाराबाजीमा उत्रिएका छन् ।

 

प्रतिक्रिया सबै