८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

ठूल-ठूला गफ होईन, साना-साना काम गरौँ : हर्क साम्पाङ

 सोमवार, असार १३ २०७९  

काठमाडौं । स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरको प्रमुख पदमा विजयी बनेका हर्कराज साम्पाङको समय यतिबेला निकै व्यस्त छ । उनी प्रत्येक दिन नागरिक सचेतनाका काममा जुट्छन् ।

उनको व्यस्तता सरसफाइ, फोहोर व्यवस्थापन, पानीको स्रोत व्यवस्थापन, ट्राफिक सचेतनालगायतका काममा बढिरहेको छ । उनले लागू औषध प्रयोगको विरुद्धमा पनि सामाजिक सञ्जालमार्फत अभियान चलाइरहेका छन् ।

धरानको वडा-२० स्थित पकुवा खोलाको मुहान क्षेत्रमा यतिबेला खानेपानीको लागि इन्टेक निर्माण गर्न जनश्रमदान भइरहेको छ । पाइपमार्फत धरान ११ मा पानी पुर्याउनका लागि पकुवाबाट खानेपानी आपूर्ति गर्न यसअघि नै पनि प्राविधिकहरुको टोलीले अध्ययन गरिसकेको छ ।

मेयर साम्पाङले पकुवाको पानी ल्याउनको लागि निर्माण कार्यको लागि आफैले श्रमदान गर्ने पनि घोषणा गरेका थिए । आफै बालुवा र सिमेन्ट बोक्ने, बालुवा चाल्ने, ढुंगा फुटाउने र पाइप बोक्ने बताएका उनले आफै अहिले पनि खटिरहेका छन् । उनले धरानका युवाहरुलाई पनि श्रमदान गर्न आह्वान गरेपछि अहिले त्यहाँ धराने जनता श्रमदानका लागि खटिरहेका छन् ।

‘कस्ले मेरो बारेमा के सोच्छ त्यो मेरो चासोको विषय हुँदै होइन, म त देश बचाउन र बनाउन निस्केको मान्छे सकेको काम गर्छु, अरुलाई पनि योगदान दिन प्रेरित गर्छु !’ मेयर साम्पाङले आफ्नो फेसबुकमार्फत भनेका छन् ।

आफुले गरिरहेको र धरानमा भइरहेको गतिविधिबारे सामाजिक सञ्जाल फेसबुकमार्फत सूचना दिइरहेको उनले अर्को स्टटाटस लेखेका छन्, ‘ठुला-ठुला गफ होइन, साना-साना काम गरौँ, एक अर्काको विरोध होइन सबै मिली अघि बढौँ, अनि हेर्नुस् यो देश कसरी बन्दो रैछ समुन्नत र समृद्ध !’

तस्विरमा हेर्नुहोस्

 

 

 

 

तस्बिर : विजय कालिकोटे/मेयर साम्पाङको फेसबुकबाट

प्रतिक्रिया सबै