१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

मापदण्ड पालना नगरी जारको पानी, विषादी हालेका फलफूल बेच्नेलाई कारबाही हुने

 मङ्लबार, असार १४ २०७९  

काठमाडौं । सरकारले दूषित पिउने पानीका कारण हैजा फैलिन थालेपछि जारको पानीमा कडाइ गर्ने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अबदेखिमापदण्ड पालना नगरी जारको पानी बिक्री गरेको पाइएमा कारबाही गर्ने जनाएको छ ।

विभागले आज सूचना निकालेर प्रशोधित पिउने पानी उत्पादन तथा बिक्री वितरण गर्दा पानी उद्योगीलाई उत्पादनसम्बन्धि निर्देशिका–२०७४ का प्रावधान पूर्ण रुपमा पालना गर्न पनि सचेत गराएको छ ।

अटेर गरे यस्ता उद्योगीलाई खाद्य ऐन अनुसार कारबाही हुनेछ । विभागले पानीका बोटल तथा जारमा लेवल तथा बिर्को सिलबन्दी भए/नभएको हेरेर मात्रै उपभोग गर्न पनि आग्रह गरेको छ ।

वर्षायाममा पानीका कारण हैजा, झाडापखालाजस्ता सरुवा रोग फैलने भएकाले उमालेर वा शुद्धीकरण गरेर मात्रै पानी पिउन तथा सफा र स्वस्थ खानेकुरा खान विभागको आग्रह छ ।

रसायन र विषादी हालेर फलफूल बिक्री गर्नेलाई पनि कारबाही
विभागले जथाभावी रसायन र विषादी हालेर फलफूल बिक्री गर्नेलाई पनि कारबाही गर्ने भएको छ । फलफूल पकाउन कार्बाइड (एसिटिलिन ग्यास)को प्रयोग नगर्न आग्रह गर्दै विभागले कृत्रिम रुपमा फलफूल पकाउन तथा बिक्री गर्न वा बिक्रीका लागि राख्न निषेध गरिएको उल्लेख गरेको छ ।

विभागका महानिर्देशक डा. मतिना वैद्य जोशीले व्यवसायीलाई रसायन प्रयोग गरी फलफूल पकाउनुपर्ने भएमा अन्तर्राष्ट्रिय प्रचलनमा रहेका स्वीकृत रसायनको तोकिएको विधि अनुसार गर्न समेत सचेत गराउनु भएको छ । आँपलगायतका फलफूल खरिद गर्दा कार्टुन वा क्रेटमा केमिकल राखेको पाइएमा विभागमा उजुरी गर्न पनि उनको अनुरोध छ । महानिर्देशक डा. वैद्यले फलफूल खाँदा राम्ररी सफा पानीले पखालेर खान सल्लाह दिएका छन् ।

प्रतिक्रिया सबै