९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार गर्न माग

 बिहिबार, असार १६ २०७९  

काठमाडौं । थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके र बर्दियामा मात्रै करिब चार हजार सिकलसेलका बिरामी छन् ।

बर्दियाको जनस्वास्थ्य अधिकृत कृष्णगोपाल चौधरीका अनुसार बर्दियाको बारबर्दिया नगरपालिका-११ फच्कहवाका पशुराम चौधरीलाई सिकलसेल एनेमिया रोगले निकै समस्या बनाएको छ । उपचारका लागि उनको लाखौँ रकम खर्चसमेत भएको छ । करिब ४० वर्ष उमेरका चौधरीलाई जन्मदै सिकलसेल रोग भएको हो । उनीजस्ता बिरामीले निःशुल्क उपचार पाउनुपर्छ ।

नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै थकित भएका पशुरामको आर्थिक अवस्था नाजुक भइसकेको छ । पछि भेरी अस्पताल नेपालगञ्जमा जाँच गराउँदा उनलाई सिकलसेल एनेमिया भएको थाहा भयो । पशुरामलगायत थुपैं मानिस बारबर्दिया नगरपालिकामा सिकलसेलका बिरामी छन् ।

त्यसैगरी बाँके स्वास्थ्य कार्यालयमार्फत सिकलसेलसँगै थालसेमियाको ‘स्क्रिनिङ’ कार्य सुरू भएपछि दुवै रोगका बिरामी बढ्दै गएको देखिएको छ । पालिकामा थारू समुदायका ९ र १० कक्षामा अध्ययनरत विद्यार्थी र अन्य बिरामीको जेठ १६ देखि असार १० गतेसम्म परीक्षण गरिएको थियो ।

कतिपय बिरामीमा त विभिन्न शारीरिक समस्या देखिएपछि छिटो निको हुने आसमा निजी अस्पताल र मेडिकल धाउँदा लाखौँ खर्च भएको र त्यस्ता शारीरिक समस्या निको पनि नभएको बताउँछन् । सिकलसेल एनेमियाका बिरामीलाई सरकारले रु। एक लाखसम्म निःशुल्क उपचार गर्छ भन्ने कुराको समेत जानकारी नहुँदा विभिन्न अस्पताल र मेडिकल कलेजमा सास्ती खेपिरहेका छन् ।

सिकलसेल विज्ञ डा। राजन पाण्डेले रोग पत्ता लगाएर पनि बिरामीले लाखौँ खर्च गरेको उल्लेख गर्दै रगत परीक्षण नै सिकलसेल एनेमियाको दिगो समाधान भएको बताए । उनले सिकलसेलको बाहकका लागि औषधि आवश्यक नपर्ने बताए । अहिले रोग नदेखिए पनि उसबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’ भनिएको छ ।

‘अहिलेको पुस्तामा रोग देखिएको छैन तर उसका सन्तानमा रोग देखिन सक्नेलाई बाहक भन्ने गरिएको छ । यो रोग अफ्रिका, भारतलगायतका मुलुकमा रहेको छ । थारू समुदायबाहेक बाहुन, क्षेत्री, मगरमा पनि सिकलसेल देखिएको पाण्डेको भनाई छ ।

 

प्रतिक्रिया सबै