२६ बैशाख २०८१, बुधबार Wednesday 8 May, 2024

आर्यघाटमा जलाउँदै गरेको १४ वर्षे किशोरीको शव प्रहरी नियन्त्रणमा

 बिहिबार, असार १६ २०७९  

काठमाडौं । प्रहरीले पर्साको बहुदरमाई नगरपालिका–७ बिश्रामपुरबाट जलाउँदै गरेको अवस्थामा १४ वर्षीया किशोरीको शव नियन्त्रणमा लिएको छ । छपकैयास्थित आर्यघाटमा आधा जलेको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

शंकास्पद रुपमा मृत्यु भएकी १४ वर्षीया महिमा कुमारीको शव प्रहरी र गाउँलेलाई जानकारी नै नदिई परिवारले अन्त्येष्टि गरेका थिए । परिवारका भनाई अनुसार घरमै विष सेवन गरेर उनले आत्महत्या गरेका थिए ।

घटनाबारे सूचना पाए लगत्तै प्रहरीले टोली परिचालन गरेर बुधबार राति नै शव नियन्त्रणमा लिएको थियो । घटनाबारे अनुसन्धानका लागि मृतकको दिदी, आमा र ठूलीआमालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले बताए ।

‘खबर पाए लगत्तै प्रहरी परिचालन गर्दा पनि शरीरको ५० प्रतिशत भाग जलिसकेको रहेछ । आत्महत्या हो या हत्या गरेर जलाउन खोजिएको हो ? भन्ने बारे अनुसन्धान भइरहेको छ’, उनले भनेका छन् ।

मलामी गएका केहि मानिस प्रहरीलाई देखेपछि भागेका थिए । घरका लोग्ने मानिस पनि सबै फरार छन, उनीहरुको खोजी र्भरहेको प्रहरीको भनाई छ ।

शव पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा ल्याइएको छ । घटनाबारे प्रहरीमा जाहेरी दिने मानिस पनि कोहि आएका छैनन् । प्रहरी प्रतिवेदनकै आधारमा अनुसन्धान प्रक्रिया अगडि बढाउने प्रहरीको तयारी छ ।

महिमाको गाउँकै एउटा केटासँग प्रेम सम्बन्ध थियो । यसबारेमा चर्चा भएपछि उनलाई अभिभावकले सम्झाइ बुझाइ समेत गरेका थिए । उनले आफूले केटा छोड्न नसक्ने बताएपछि अभिभावकले मनसिक र शारीरिक यातना समेत दिने गरेको गाउँलेले बताएका छन् । उनले बुधबार राति विष सेवन गरि आत्महत्या गरेको भन्दै अभिभावकले प्रहरी र गाउँलेलाई खबर नै नगरी शव जलाउन थालेका थिए ।

प्रतिक्रिया सबै