१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

कविता : मातृभूमि नेपाल

 बिहिबार, असार १६ २०७९  

पर्दैन जान विदेश युवा हो
हिमालबाटै संसार देखिन्छ ।
पखाले आफ्नै देश पसिनाले
कुवेरजीको भण्डार भेटिन्छ ।।

हिमाल हेर श्रिपेच बनी
नागमणी झैं बलिदिन्छ ।
तराई हेर जीवन धान्ने
सयौं थरि अनाज फलिदिन्छ ।।

पहाड हेर छाँगो छहराहरुले
नौमती बाजा घन्काई दिन्छ ।
पन्छिहरु त्यहि धुनहरुमा
दोहोरि गीत सुनाई दिन्छ ।।

हरियाली बन जङ्गल हरुले
मनका तनाब हटाई दिन्छ ।
चौतारीहरुको शितल हावाले
तनका थकान मेटाई दिन्छ ।।

खोर्सिए डाँडा पाखाहरु यहाँ
अमुल्य खाँनीहरु भेटिन्छ ।
खोजे हिमाल,पहाड तराइमा
संजीवनी बुटी पनि भेटिन्छ ।।

नखोज सुख शान्ति काहीं
मातृभूमि नेपालमै भेटिन्छ ।
प्राकृतिक धरातल हरुमा हेर
स्वर्गको प्रतिबिम्ब देखिन्छ ।।

पर्दैन जान विदेश युवा हो
हिमालबाटै संसार देखिन्छ ।
पखाले आफ्नै देश पसिनाले
कुवेरजीको भण्डार भेटिन्छ ।।

रचना ज्ञान बहादुर लामा ‘दोङ’

प्रतिक्रिया सबै