११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

भारतमा विजुली बेच्दा महिनामा १ अर्ब ७२ करोड आम्दानी

 शुक्रबार, असार १७ २०७९  

काठमाडौं । नेपालले भारतलाई विजुली बेचेर महिनामा १ अर्ब ७२ करोडको आम्दानी गरिरहेको छ । नेपाल विध्युत प्राधिकरणले पछिल्लो एक महिना (२ जुन–३० जुन) मा भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स) बजारमा प्रतिस्पर्धी दरमा बिजुली बेचेर १ अर्ब ७२ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको हो ।

जुनमा १७ करोड ८१ लाख ९१ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरिएको छ । प्राधिकरणले यस अवधिमा भारतमा बिक्री गरेको विद्युतबाट सम्पूर्ण शुल्कहरु कटाएर खुद नाफा १ अर्ब ७२ करोड ३० लाख रुपैयाँ कमाएको छ । जुन महिनामा प्रतिस्पर्धी बजारमा बिक्री गरिएको विद्युतको औसत प्रति युनिट दर ९ रुपैयाँ ६७ पैसा छ ।

आईईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा स्लटमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक समयको मूल्य फरक–फरक हुने गरेको छ ।

प्राधिकरणले यस अवधिमा विद्युत बिक्रीको औसत दर सबैभन्दा बढी १५ जुन (१ असार) मा पाएको छ । त्यस दिनको प्रतियुनिट औसत दर १५ रुपैयाँ ९३ पैसा थियो । सबैभन्दा कम औसत दर २१ जुन (७ असार)मा थियो । त्यसदिन औसत दर प्रतियुनिट ४ रुपैयाँ ९२ पैसा थियो ।

यस अवधिमा ३ जुन (२० जेठ)मा सबैभन्दा कम ५६ लाख ६७ हजार रुपैयाँको विद्युत बिक्री गरिएको छ । त्यस दिन ९ लाख ४ हजार ८ सय युनिट विद्युत बिक्री गरिएको थियो । सबैभन्दा बढी १४ जुन (३१ जेठ) ७ करोड २८ लाख रुपैयाँको विद्युत बिक्री भएको छ । त्यस दिन ७८ लाख १३ हजार ३ सय युनिट विद्युत बिक्री गरिएको छ ।

खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठदेखि आईईएक्समा बिक्री सुरु गरेको प्रााधिकरणले सुरुमा दुई वटा विद्युतगृहको ३९ मेगावाट विद्युत दैनिक रुपमा आईईएक्समा बिक्री गरिएको थियो । त्यसलगत्तै २७ जेठदेखि दैनिक रुपमा ३६४ मेगावाट विद्युत भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

विद्युत प्राधिकरणले भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणबाट ६ वटा जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत आईईएक्स मार्केटमा बिक्री गर्न स्वीकृति पाएको हो ।

नेपालले गत वर्षबाट सुरु गरिएको भारतीय प्रतिस्पर्धी बजारमा विद्युत व्यापार यस वर्षबाट थप प्रभावकारी रुपमा अगाडि बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाई छ । चालु आर्थिक वर्षमा करिब ५ अर्ब र आगामी वर्षमा करिब २० अर्ब रुपैयाँको विद्युत निर्यातको प्रक्षेपण गरिएको उनले बताएका छन् ।

उनका अनुसार भारतसँगको विद्युत व्यापारले नेपालको जलविद्युतको विकासमा ठूलो सहयोग पुग्नेछ । पहिलो प्राथमिकता देशभित्रै विद्युत खपत गर्ने र त्यसका लागि प्रसारण र वितरण प्रणालीका पूर्वाधार संरचनामा राज्यले अझै लगानी बढाउनु पर्ने देखिएको घिसिङको भनाई छ ।

प्रतिक्रिया सबै