११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

स्मार्ट फोन मोह : ११ महिनामा ३९ अर्बको मोबाइल आयात

 शुक्रबार, असार १७ २०७९  

काठमाडौं । नेपालमा महँगा मूल्यको स्मार्टफोनको प्रयोग उच्च दरमा बढ्न थालेको छ । स्मार्टफोनको माग बढेपछि बार फोनको आयात कम हुँदै गएको छ भने स्मार्टफोनको माग र आपूर्ति चुलिंदो छ ।

चालु आर्थिक वर्षको पहिलो ११ महिना (साउन-जेठ)मा करिब ३९ अर्ब रुपैयाँ बराबरको मोबाइल आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार ११ महिनाको अवधिमा ३८ अर्ब ८९ करोड ४९ लाख रुपैयाँ बराबरको मोबाइल आयात भएको हो । यसमध्ये ८ लाख २७ हजार महँगा स्मार्ट फोन हुन् । ११ महिनामा ५६ लाख ३७ हजार थान मोबइल सेट आयात भएको छ । जसबाट सरकारले ६ अर्ब १७ करोड राजस्व पनि उठाएको छ ।

नेपालमा कतिपय स्मार्ट फोन कम्पनीहरुलाई केही मोडलका सेटको माग धान्न हम्मे परिरहेको छ । महामारीपछि विद्युतीय चिप अभाव भएको असर मोबाइल बजारमा परेकाले उत्पादन प्रभावित हुँदै आएको छ ।

नेपाल मोबाइल व्यवसायी संघ अध्यक्ष पुरुषोत्तम बस्नेतकाका अनुसार कोरोनाको महामारी सुरु भएपछि अडियो—भिडियो कल, भिडियो कन्फ्रेन्सिङ, अनलाइन कक्षालगायत गतिविधि गर्नसक्ने फोनको माग धेरै छ । अहिले मोबाइलमा भिडियो हेर्ने, गेम खेल्ने र मल्टिमिडया प्रयोग गर्नेहरु उत्तिकै छन् । २० हजारदेखि ४० हजारसम्मका फोन किन्नेको संख्या अधिक छ । नेपालमा ग्रामीण दूरसञ्चार सेवा बढ्दै गएकाले पनि यस्तो मोबाइलको प्रयोग बढेको छ ।

नेपाल टेलिकम र एनसेलले सेवा विस्तार गर्दै गुणस्तर पनि सुधार्दै लगेकाले मोबाइल बजारमा त्यसको प्रभाव देखिएको छ । अनलाइन कक्षा, भर्चुअल मिटिङ लगायतमा पुराना डिभाइसबाट काम नचल्ने भएपछि नयाँ किन्न पर्ने बाध्यता सिर्जना भएकाले मोबाइलको बजार चम्किन पुगेको हो ।

प्रतिक्रिया सबै