९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

पिउने पानी कसरी शुद्ध बनाउन सकिन्छ ?

 सोमवार, असार २० २०७९  

काठमाडौं । बर्खायाम सुरु भएसँगै काठमाडौँ उपत्यकाका विभिन्न १० स्थानमा हैजा सङ्क्रमित बिरामी पुष्टि भएको छ । हैजा पुष्टि भएका सबै जनालाई पानीकै माध्यमबाट सङ्क्रमण भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०१७ मा गरेको एक अध्ययनले पनि प्रदूषित पानीका कारण विश्वमा प्रत्येक वर्ष लाख ८५ हजार मानिसको मृत्यु हुने गर्छ । यस अध्ययनले ५० प्रतिशतभन्दा धेरै विकासोन्मुख राष्ट्रमा प्रदूषित पानीको प्रयोग गरेको देखिएको छ ।

बजारमा उपलब्ध केही सिल गरिएका जारको पानी अनि मिनिरल वाटरमा समेत स्वास्थ्यलाई हानी पुर्‍याउने कीटाणु पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

यस्तै, बजारमा पीयूष र वाटरगार्ड नाम गरेका क्लोरिनको झोल उपलब्ध हुने भएकाले तिनको प्रयोगबाट पनि पानी शुद्ध बनाउन सकिन्छ ।

पानी शुद्ध बनाउने विधि

क्लोरिनः एक लिटर पानीमा तीन थोपा पीयूषको झोल राखेर ३० मिनेटपछि पानी पिउन योग्य हुन्छ । क्लोरिन झोललाई बच्चाले भेट्ने ठाउँमा राख्नु हुँदैन । यस्तै, यो झोल शरीरमा परेमा पानीले राम्रोसँग पखाल्नुपर्छ ।

सोडिसः पिउने पानी शुद्धीकरणका लागि निकै सजिलो उपाय हो सोडिस गर्ने प्रक्रिया । यस विधिलाई घरेलु उपाय पनि भनिन्छ । सफा प्लास्टिकको बोतलमा पानी भरेर बिर्को बन्द गरी घाममा दिनभर राख्नुपर्छ । यसरी घाममा पानी राख्दा पराबैजनी किरण र तापले गर्दा पानीको हानिकारक कीटाणु मार्ने गर्छ । यो विधिबाट शुद्धीकरण गर्दा पानी धमिलो भएमा सफा कपडा वा फिल्टरले छानेर मात्रै सोडिस गर्नुपर्छ ।

फिल्टरः पानीलाई फिल्टर गरेर शुद्ध गराउन सकिन्छ । तर, बजारमा पाइने सबै फिल्टरले १०० प्रतिशत पानी शुद्ध बनाउँछ भन्ने हुँदैन । क्यान्डल सहितको दुई भागको फिल्टरले पानी शुद्ध बनाउँछ । पानी फिल्टर गर्दैमा सबै खालका जीवाणु नष्ट नहुन पनि सक्छन् ।

उमाल्नेः पानीलाई शुद्ध बनाउने सबैभन्दा सरल तरिका भनेको पानी उमाल्ने हो । पिउने पानीलाई कीटाणुरहित बनाउनका लागि कम्तीमा २० देखि २५ मिनेट पानी उमालेर पिउनुपर्छ ।

 

प्रतिक्रिया सबै