१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

हिमालयन र सिभिल बैंकबीच जुट्यो मर्जर सहमति

 बुधबार, असार २२ २०७९  

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरमा जाने सहमति जुटेको छ । केही साता अगाडि ‘नन् डिस्क्लोजर एग्रिमेन्ट’ गरेर डकुमेन्ट आदान प्रदान गरेका दुई बैंकबीच मर्जरमा जाने सहमति भएको हो ।

सेयर आदन प्रदान अनुपात (स्वाप रेसियो) मा सहमति भएसँगै बैंकको नाम सञ्चालक समिति, कर्मचारी समायोजना लगायतका विषयमा पनि सहमति गरेर जाने तयारी भइरहेको एक बैंकका सञ्चालकले बताए ।

‘स्वाप रेसियोमा सहमति भएको छ, अन्य विषयहरुमा छलफल भइरहेको छ, एक दुई दिन भित्र सबै कुरा मिलाएर प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘सिभिल बैंकका १०० कित्ता सेयर मर्जरपछि बन्ने बैंकमा ८१ कित्ता अथात् १००:८१ को स्वापमा मर्जर जाने सहमाति भएको छ ।’

मर्जरमा जाने सहमति जुटेसँगै हिमालयन बैंकले सञ्चालक समितिको बैंठक बोलाएको छ भने सिभिल बैंकका सञ्चालक समितिको बैंठक भने अनिश्चित रहेको छ । हिमालयन बैंकले बिहीबार बिहान १० बजेको लागि सञ्चालक समितिको बैंठक बोलाएको एक सञ्चालकले बताए ।

‘मर्जरको विषयमा छलफल गर्न बिहीबार बिहान सञ्चालक समितिको बैंठक बोलाएका छौं, बैंठकले स्वीकृत दिएपछि मर्जरको सम्झौता गर्ने बाटो खुल्नेछ’ ती सञ्चालकले भने ।

२०७८ वैशाखमा नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जरमा जाने प्रारम्भिक सहमति भए पनि स्वाप रेसियो लगायका विषयमा विवाद भएपछि उक्त मर्जर असफल भएको थियो । १:१ को स्वाप रेसियोमा मर्जरमा जाने प्रारम्भिक सहमति गरेको भएपनि हिमालयन बैंकको साधारणसभाले उक्त स्वाप रेसियोमा मर्जरमा जान नसकिने भन्दै मर्जर प्रस्ताव अस्वीकृत गरेपछि सम्झौता भएको ९ महिनापछि मर्जर तोडिएको थियो ।

उक्त मर्जर प्रक्रिया असफल भएपछि नेपाल इन्भेष्टमेन्ट बैंंकले मेगा बैंकसँग प्रारम्भिक सम्झौता गरिसकेको छ । हिमालयन बैंकले पनि सिभिल बैंकसँग सम्झौता गर्न तयारी गरेको हो ।

२०७९ असार मसान्तमा सम्झौता गरेर २०८० असार मसान्तभित्र एकीकृत कारोबार गर्ने बैंकले उक्त छुट पाउने भएकोले पनि यतिबेला वाणिज्य बैंकहरुले मर्जरलाई प्राथमिकता दिएका छन् ।

प्रतिक्रिया सबै